
सन्तोष शर्मा
झापा, ९ असार । झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ ।
निर्माण कार्य ‘गुणस्तरहीन’ भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको हो । भवनबाट पानी चुहिन थालेपछि भवनको विभिन्न स्थानका पर्खाल र छत रसाएका छन् ।
“छतको धेरै ठाउँ चर्किको छ”, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवराज भण्डारीले भन्नुभयो, “भर्खरै बनेको भवनको कोठाहरुमा पानी चुहिन थालेका छन् ।”
भवनको वाल र भुइँबीच धेरै स्थानमा धाँजा फाटेको, भवनको पछाडि भुइँमा बिच्छ्याइएको इन्टरलक दबिएको, प्लम्बिङको पाइपहरु कमसल र लापरबाही किसिमले लगाइएको, भुइँ तलाको केही स्थानमा सामान्य दबाब दिँदा भत्किने (बालुवा फुसफुस झर्ने), बरण्डामा परेको पानी भित्र पस्ने, भवनभित्र लगाइएको मार्बल अधिकांश चर्केको पाइएको नगर अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भवन निर्माणमा कमजोरी भएको थाहा पाएपछि निर्माण कार्य रोक्न आग्रह गरेको बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका सीडीईसँग छलफल गरेर मात्र काम अगाडि बढाइने उहाँले बताउनुभयो ।
“गुणस्तहीन कामलाई ढाकछोप गर्न रातारात आएर काम अघि बढाएको पाइएको छ”, उहाँले भन्नुभयो, “आजदेखि नगर प्रहरी परिचालन गरेर काम हुन दिँदैनौं, सबै पक्षसँगको सहकार्यमा गुणस्तरीय काम हुन यकिन भएपछि मात्र अब काम अघि बढ्छ ।”
युवा नागरिक समाज भद्रपुरका अध्यक्ष प्रेमप्रसाद खनालले भवन निर्माणमा कमजोरी भएको पाइएपछि शुरुदेखि नै खबरदारी गर्दै आएको बताउनुभयो । नागरिकको स्वास्थ्यसँग जोडिएको संवेदशील क्षेत्रमा समेत अनियमितता हुँदा राज्यको ठूलो लगानी खेर जाने अवस्था आएको उहाँले बताउनुभयो । “कुनै पनि हालतमा हामी चुप लागेर बस्दैनौं”, उहाँले भन्नुभयो, “गुणस्तर अनुसारको भवन बनाउनै पर्छ ।”
गत जेठ २२ गते सघन शहरी विकास आयोजना झापाका सीडीई रुपक आचार्यले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गर्नुभएको थियो ।
५० शैय्या क्षमताको नवनिर्मित अस्पताल भवन निर्माणको ठेक्का श्री कन्टेक्ट प्रालि काठमाडौंले रू २२ करोड ६१ लाख ३७ हजार ३५२ (भ्याट बाहेक) लिएको थियो भने २०७४ साल कात्तिक ३० गते निर्माण सम्झौता गरिएको उक्त भवनको निर्माण कार्य २०७९ भदौ २५ गते सम्पन्न गर्नुपर्ने रहेको थियो ।्
कुशल शर्मा सञ्चालक रहेको उक्त कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर राम श्रेष्ठका अनुसार दुई तले नवनिर्मित भवनमा छ वटा ब्लक र एउटा ¥याम्प छ । नवनिर्मित अपाङ्गमैत्री भवनमा दुई वटा लिफ्ट समेत जडान गरिएको छ ।
भवनको निर्माणको गुणस्तरमा प्रश्न उठेपछि यहाँका राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरुले विरोध गर्दै मापदण्ड अनुसारको अस्पताल भवन निर्माण गर्नुपर्ने माग गर्न थालेका छन् ।
विपन्न नागरिकको आशाको केन्द्रको रुपमा रहेका सरकारी अस्पतालको नवनिर्मित भवन बिरामीको उपचारका लागि तयारी अवस्थामा हुनुपर्नेमा आफैँ बिरामीसरह भएको छ ।
यता, अस्पताल भवन निर्माणमा चरम लापरबाही र गुणस्तरहीन भएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुर नगरकमिटीले आज पत्रकार सम्मेलन गरी दोषीलाई कारबाही र गुणस्तरीय भवन निर्माण गर्न माग गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



