
बिर्तामोड, ११ असार । झापाको बिर्तामोडमा ‘स्वास्थ्य पर्यटन प्रवद्र्धन कार्यक्रम’ हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजनामा मुलुकको चिकित्सा क्षेत्रलाई पर्यटनसँग जोड्ने र स्वास्थ्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । आगामी असार १६ गते बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रवद्र्धन कार्यक्रम हुनेछ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल ब्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
हेल्थ टुरिजम प्रमोशन प्रोग्राममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन ब्यवसायीहरुले आ–आफ्ना व्यवसाय प्रवर्धनका सामग्रीसहित स्टल राखेर सहभागिता जनाउने नाट्टा कोशी प्रदेश महासचिव नविन खरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कार्यक्रमका लागि १२ वटा हस्पिटल, ८ वटा होटल, ६ वटा आँखा अस्पताल, ५ वटा दाँतका हस्पिटल, एउटा टुरिजम कलेज र एउटा हेल्थ कलेज सम्पर्कमा आइसकेका छन् । स्टलहरुलाई निःशुल्क प्रदान गरिएको बताइएको छ । स्वास्थ्य सेवा प्रदायक, विरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालाहरुलाई फाइदा पुर्याउने उदेश्यले हेल्थ टुरिजम प्रमोशन प्रोग्राम गरिएको नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।
कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम लगायतका भारतको पश्चिम बंगाल र बिहारबाट समेत पर्यटन व्यवसायी र पत्रकारको टोली आउने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीको निःशुल्क सुगर, प्रेसर, आँखा परीक्षण गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत निज कट्टेल, होटल व्यववसायी संघ झापाका महासचिव शिवराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



