
भद्रपुर, १५ साउन । हल्दिबारी गाउँपालिकामा गत आर्थिक वर्ष २०७९/०८० मा विपन्न नागरिक औषधि उपचार कोषमार्फत् रू एक लाख छूटका लागि ५९ जनाले सिफारिस लिएका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाका अनुसार ३३ जना क्यान्सर रोग, नौ जना मृर्गौला रोग, १५ जना मुटु रोग र दुई जना मेरुदण्डको पक्षघातको बिरामीले रू एक लाख उपचार छूटका लागि सिफारिस लिएका हुन् ।
यस्तै, गाउँपालिकाले गत आवमा मृर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार वापत ६८ जनालाई रू ३२ लाख ५० हजार खर्च उपलब्ध गराएको छ ।
जसमा सबैभन्दा धेरै क्यान्सर रोगी ४४ जनाले रू २१ लाख ६५ हजार पाएका छन् भने डायलाइसिसका १३ जना बिरामीले रू छ लाख ६० हजार, मृर्गौला प्रत्यारोपण गरेका चारले रू एक लाख ९५ हजार र मेरुदण्ड पक्षघातका बिरामी पाँच जनाले रू दुई लाख ३० हजार पाएको गाउँपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



