
शिवसताक्षी, १९ साउन । बढ्दै गएको डेंगु संक्रमण नियन्त्रण गर्नका लागि शिवसताक्षी नगरपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
झापाका अधिकांश स्थानमा डेंगुको संक्रमण बढ्दै गएका बेला सोको नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा डेंगु नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा डेंगु प्रभावकारी रुपमा नियन्त्रण डेंगु बस्ने स्थान नै नष्ट गर्नु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए ।

एडिस जातको लामखुट्टेले घर वरिपरि विभिन्न स्थानमा फ्याँकिएको बट्टा, भाडाँ, टायर, अलकत्रको ड्रम वा कुनै पनि भाँडोमाथि सङ्लो पानी जमेको स्थानमा लार्भा उत्पादन गर्ने र लामाखुट्टे विकसित अवस्थामा डेंगु रोगलाई एकबाट अर्कोलाई सार्ने भएकाले प्रभाकारी रुपमा जमेको पानी हटाउन सके डेंगु नियन्त्रण गर्न सकिने पोकल पर्सन पौडेलले बताए ।
डेंगु नियन्त्रणका लागि विषादी वा विषादी युक्त धुँवा (फगिङ) छर्केर डेंगु नियन्त्रण नहुने भेक्टर कन्ट्रोल निरिक्षक कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मी जीवन चम्लागाईंले बताए । समाजमा विषादी र धुँवा छर्किने प्रचलन बढ्दै गए पनि डेंगु नियन्त्रणका लागि यो प्रभावकारी नुहने उनले बताए । ‘डेंगु नियन्त्रण गर्न एडिस जातको लामखुट्टेको बास स्थानलाई नष्ट गर्नु पर्ने हुन्छ’ उनले भने, ‘यसो गरियो भने मात्र हामीले छिट्टै डेंगु नियन्त्रण गर्न सक्छौं ।’
अभिमुखीकरणमा गोष्ठीमा प्रभावकारी बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षीमा पनि २ जना डेंगु भएका व्यक्ति फेला परेको बताए । उनले यसलाई अन्य समुदाय फैलन नदिनका लागि शिवसताक्षी नगरपालिकाले प्रत्येक वडाहरुबाट लामुखट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउने जानकारी दिए ।

उनले वडाहरुका प्रत्येक टोलबासीहरुलाई डेंगु नियन्त्रणका लागि अभियानमा जोडिन समेत उनले आग्रह गरेका छन् । विषादी छर्केर डेंगु नियन्त्रण नहुने भएका कारण नगरपालिकाले लार्भा उत्पादन गर्ने स्थान नष्ट गर्न लागेको उनको भनाइ थियो । नगरपालिकाले आगामी सोमबारदेखि सबै स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई डेंगु नियन्त्रणका लागि परिचालन गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालमा सन् २००४ बाट देखिएको डेंगुले हालसम्म ८८ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, नेपालमा हालसम्म सन २०२२ सम्ममा ५४ हजार ७ सय ८४ जना संक्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालयको डाटामा उल्लेख छ । सन् २०२३ को हालसम्ममा ५ हजार ६८९ जना डेंगु संक्रमित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



