
– शालिक भट्टराई अन्तरे
गाउँ-घर, छर-छिमेकमा मरिमराउ परेको अवस्थामा आजभोली विभिन्न समूह,संघ/संस्था निकायहरुबाट मृतकका परिवारजनमा सामुहिक/संस्थागत रुपमा घरमै पुगेर औपचारिक रुपमा मृतक प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना दिने चलन छ । बिशेष गरी शहर बजार क्षेत्र र आसपासमा यो चलन निक्कै बढेर गएको देखिन्छ ।
यस्तै औपचारिक समवेदना लिखित रुपमा दिने चलन नेपालका विभिन्न समुदायमा पचास साल पछि क्रमश बढ्दै गएको पाईएको छ । विभिन्न समूह, सामाजिक संघ÷संस्था निकायहरु, सहकारी संस्थाहरुको जब विकास र प्रवर्धन हुँदै गयो तव–तब समवेदना लिखित रुपमा दिने चलन र त्यसमा सहभागिता समेत बढ्दै गयो । सामुहिक र संस्थागत रुपमा गठन भएका आमा समूह, भजन समूह, टोल सुरक्षा समूह, टोल विकास समिति, वन समूह, खानेपानी तथा सरसफाइ समिति, बाजा समूह, कृषक समूह, पशु पालक समूह, अन्य संस्था, राजनैतिक दलका भातृ संगठन, लगायतका समूहहरु यस कामा सक्रिय देखिन्छन । पछिल्लो समयमा राजनीतिक पाटीहरु समेत उछिनपाछिन गर्दै समवेदना दिने काममा सक्रियछन ।
मृतक परिवारको कुनै सदस्यको त्यस्ता समूह वा संस्थामा कुनै प्रकारको आवद्धताका कारणले सामुहिक/संस्थागत समवेदना लिखित रुपमा दिने प्रचलन हुनु स्वाभाविकै हो ।
समवेदना प्रकट गर्न सामुहिक रुपमा जाँदा कतिपयलाई यो चलनले सजिलो बनाएको पनि हुनसक्छ । फलफूल वा मानो चामलको सामाग्री लैजाने कुरामा घरबाट एक्कलै जानुपर्ने अवस्थामा वा ब्यस्तताको कारणले त्यस घरमा पुग्न नभ्याएको कारणले यो सामुहिक चलन सजिलो पनि भएको हुन सक्छ । व्यक्तिगत होस वा संस्थागत दुबै तरिकाबाट समवेदना पाउँने परिवारजनलाई धेर्य-धारण र सान्त्वना हुने कुरा त छँदैछ । तर समवेदना प्रकट गर्न जाँदा हुने स-साना त्रुटी तथा कमि कमजोरीबाट उत्पन्न गराउने संभावित परिस्थितीले पीडामा परेको परिवार-जनमा अझ आघात हुने कुरा जटिल पाटो हो ।त्यस्तो अवस्थामा स-साना कमि कम्जोरीले शोकमा बसेका परिवारजनलाई पर्नजाने मानसिक तनाव बाट सिर्जना हुनजाने आघातका वारेमा कत्तै पनि बहस/चर्चा भएको पाईन्न ।
कतै–कतै यो चलन निक्कै भद्दा, मजाक जस्तो पीडादायक हुने गरेको महशुस गरिएकाछन। कतिपय ठाँउमा अनगिन्ती समस्या छैनन् भन्न सकिने अवस्था छैन । तर सामुहिक रुपमा समवेदना दिन जाँने कि नजाने…? भन्ने बिषयमा बहस र चर्चा हुनु निक्कै नै जरुरी भैसकेको छ । त्यसैले होला कतिपय शोकाकुल परिवारजनले फलफुल नलिइ आउनु होला…? समवेदना पत्र शिशाको फ्रेम निषेध गरिएको छ । भन्नेखाले सूचना हिजोआज शोकाकुल परिवारजनले सामाजिक सञ्जालमा राख्ने गरेको पनि देखिन्छ ।
यसका लेखकलाई पर्न गएको यथार्थ घटनाको चर्चा गरौ । आफैले काम गर्ने निकायका एकजना अधिकृत साथीको पिताजी बितेको नबौ दिन सम्म पनि कार्यालयबाट समवेदना प्रकट गर्न जाने मान्छे उपलब्ध भएनन । त्यो ठाँउ कार्यालय देखि अलि टाढै थियो । हिजोआज चलन जो बढेको छ, नगइ पनि नहुने ? अफिसका अरु-अरु सबैले अन्तरेलाई तिमी जौ भनेर जिम्मा दिए । कम्प्युटर गरेको तयारी समवेदना-पत्र तथा जिन्सी सामान सहित फलफूलको एउटा कार्टुन बोकेर अन्तरे एकअर्को कर्मचारी साथी मोटरसाइकलमा पछाडी राखेर भावपुर्ण श्रद्धाञ्जली तथा समवेदना दिन दौडियो । समवेदना-पत्र बनाउने र शिसाको फिरिम हाल्ने अरु कसैको जिम्माको काम थियो । अन्तरे र उस्को साथी समवेदना प्रकट गर्न गाँउतर्फ हिंडे । त्यो ठाउँमा पुग्न झण्डै पचास किलोमिटर दुरी पार गर्नुपर्थ्यो । असिन पसिन हुँदै शोकाकुल परिवारजनलाई भेट्न दिनको बाह्रबजे पुगे । गर्मीले सताईएका अन्तरे र उस्को साथी घर सोध्धै कन्तबिजोकले त्यस ठाँउमा पुगेका हुन ।
आफ्ना पिताजीको देहावसानमा आफुलाई धैर्य-धारण गर्ने शक्ति मिलोस भनी भेट्न आएका आफ्नै कार्यालयका साथीहरु देखेर दशगादी काममा बसेका सर अफिसबाट टोली आएकोमा केहि आश्वस्त देखिए । त्यस्तो दूःखको घडिमा को आए आएनन् ? भन्ने कुराको हेक्का राख्ने नेपाली जनको पुरानो चलन छ ।
फलफुल कोसेली बुझाई सकेपछि आधा काम फत्ते भएको महशुस गर्यो अन्तरेले । शोक-सन्तप्त परिवारजनलाई एक पटक नियालेर हेर्ने काम पनि सकियो । ×खाना पीना त रुच्दै छ नि…? कुनै सार्हो-गाह्रो केहि छ ? छ भने भन्नुहोला ।” बनावटी र वेतुकका कुरा औपचारिक सोधाईको काम पनि सम्पन्न गरियो । किरियामा बसेकालाई आगँनमा लामबद्ध उभ्याईयो । काजक्रियाका सहभागी छोरीबुहारी अन्य छोराहरु लामबद्ध भए । कोही वाथरुम गएका कोही ट्वाइलेट गएकाहरुलाई केहि क्षण पर्खनु परिहाल्यो । त्यहाँ उपस्थित अन्य शुभचिन्तकहरु समेत एक अर्को लहरमा सामेल भए । अधिक शोकले भावविह्वल भएर कुनामा घुस्रुक्क बसेकी स्व. पिताजीकी धर्मपत्नी अर्थात आमालाई पनि तङ्ग¥र्याएर लहरमा उभ्याईयो ।
अन्तरेले उपस्थितलाई मृतकको आत्माको चीर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण गर्ने उर्दि जारी गर्यो । सो काम पनि सकियो । समवेदना-पत्र पढ्न शुरु ग¥यो– निज मृतकलाई जिन्दगीमा कहिल्यै नदेखेको मृतकको जन्मकुण्डलीको चर्चा गर्दै “ जन्मेको ठाँउ देखी कर्म गर्दै बसाई सर्दै, आसाम हुँदै मधेसमा आएर जोडेको जग्गा जमिन, स्कुललाई दिएको चन्दा देखी मन्दिरको दान, वालबच्चाको लालन पालन देखी छोराछोरीको संख्या र बिहावारी आदि लामो बखान सकेर मृतक पिताजीको आत्माको चीरशान्तिको पहिलो चरणमा कामना गरे । उक्त समवेदना पत्रमा साथीको नामलाई हाईलाईट गर्दै हाम्रा अनन्य मित्र फलाना तथा निजका दाजुभाइ/बुहारीहरु, छोरी ज्वाँई, नातिनातिनीहरु पनाति पनातिनीहरुका संख्या सहित पाठगरे । साथै कुल कुटुम्ब नातागोता शोक सन्तप्त परिवारजन प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
भन्दै हातको समवेदना फिरिम अन्तरेले घरपरिवारको सदस्यको जिम्मा लगाएर लामो श्वास फे¥यो । तर उता काजक्रिर्यामा बसेका साथीका रेमिट्यान्स दाजु र ग्रिनकार्ड भाईले शुरुमा त दाजुले साथीभाई सँग राम्रै रैछ । नाम कमाएकै रहेछन् र त उति टाढाबाट आएत…? भन्ने लख काटे । समवेदना दिन आएकामा परिवारजनले केही सहज र शान्त मनका पनि देखिएका थिए । तर, ति साथीका दाजुभाइको एक्कासी अँध्यारो अनुहार भयो । साथीको पनि नाक खुम्चियो । मुखामुख गर्न थाले । कुरा के भएको रहेछ भने, समवेदनाको अन्त्यमा हार्दिक धन्यवाद जस्तो अप्राकृतिक शब्द परेको रहेछ अन्तरेलाई पत्तै भएन ।
उता अन्तरे भने अद्म्य साहसिक काम फत्ते गरेँकोमा थचक्क कुर्सीमा ढुक्कले बस्यो । यस्तो समवेदना पढ्दा मान्छे अलि भावुक हुन्छ । ठुलो कवि गोष्ठीमा नवोदित कविले कविता पाठ गरेजस्तै मुटुपनि अलिअलि ढक्क फुल्छ र हल्लिन्छ । अन्तरेलाई त्यस्तै भयो, कताको के फेशो खुस्किएको पत्तो पाएन…? शोकाकुल परिवारजनका अनुहारमा एसो आँखा दौडाउँदा त सबैका मुख अँध्यारा थिए । “मेरी बास्सै ! कुरो कता चिप्लियो कि के भयो ?” अन्तरेको साथीले पनि समवेदना पढिरहँदाको शब्दोच्चारणमा हेक्का राखेन । कम्प्युटर मिस्टेक परेछ । हार्दिक समवेदना प्रकट गर्दछौ, हुनुपर्नेमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौ । दुखको समयमा वेइमान कुरा…. ?
किरियामा बसेका साथीले एस्तो मिस्टेक भईहाल्छ पछि त्यत्तै ल्याएर सञ्च्याउँला भनेर ढाडस दिए । यस्तो गल्ती भै हाल्यो भनेर आश्वस्त पारे । उपस्थित भएका मानिसले भने त्यो फिरिमवाला समवेदना पत्र उचाल्दै हेर्दै गरे पटक पटक । अन्तरे र उस्को साथीलाई मर्नुन बाँच्नु भयो । कत्तिबेला त्यहाबाट भाग्नु जस्तो दुबै अवाक भए । आफुले गरेको त हैन ब्याकरणका असफल बिद्यार्थीको कम्प्युटर डेक्स्टपमा गरेको त्रुटिको सजायको मुख्य भागिदार अन्तरे र उस्को साथी अर्घेलोमा परे ।
उत्ता, जुठोबारेका घरभित्र अस्थायी कामकाज गर्ने नातिनी, छरछिमेकी भित्रियाहरुले सर्वतपानी, फलफुलका चोईटा चलानी टपरीमा अन्तरे र उस्को साथीलाई तेस्र्याए । त्यो खान हुने, नहुने के हो ? मरुमारु भएको ठाँउमा प्राःय मानिसले ह्वात्तै टिपेर खाईहालेको नदेखेका उनिहरुले दुबैले नाईको टाउको हल्लाए । निक्कै जर्वजस्ती खान कर गर्दा पनि खान दिईएको पदार्थ अस्वीकृत भयो ।
शोक सन्तप्त परिवारलाई हार्दिक धन्यबाद दिएको अन्तरेले खान मिल्छ ? अन्तरेको मनमा विभिन्न कुरा खेल्न थाले । कत्तिबेला हिडौं जस्तो भई सकेको थियो । त्यसै गर्नु होला भनेर अन्तरेको साथीले पनि धार्नीको टाउकोको इसारामा सामान्य भलाकुसारी सकेर अन्तरे र निजको समवेदनाको सहयात्री फिर्ता भए ।
जस्तो कि समवेदना दिने प्रचलनको पछिल्लो विकशित रुप के हो भने, संस्थागत समूहको प्रतिनिधी मृतकको जन्मकुण्डली र निजको योगदानको बारेमा जानकारी लिन घट्ना लगत्तै अर्थात हतारिंदै शोकाकुल परिवारजनमा पुग्ने । समवेदना पत्रमा उल्लेखित विवरण ठिक छ छैन ? राम्ररी केलाएर नहेर्ने । समवेदना लगेको दिन अनौपचारिक कार्यक्रममा क्रिर्यापुत्रीको अगाडि अध्यक्षको आसन ग्रहण गराउँने । शोकसन्तप्त परिवारजनका तर्फबाट धन्यबाद दिन लगाउँने । शुद्धशान्तिको दिन निमन्त्रणा सहितका भाषण गर्ने गर्न अभिप्रेरित गर्ने …? अर्थात त्यो कुनै उत्साहपुर्ण राजनीतिक कार्यक्रम जस्तो सर्व-साधारणलाई भान पर्ने । संस्थागत रुपमा त्यसरी आएका आफ्न्तलाई दिईएको फलफुलका चाना आदि सामाग्री नखाई दिनाले खाद्य पदार्थको दुरुपयोग हुने । क्रियामा बसेका मध्येको कुनै एक किरियापुत्री आवद्ध भएको संस्थाले त्यस्तो समवेदना लैजानाले क्रियामा बसेका अरु सदस्यले आत्माग्लानी गर्नु पर्ने । अर्थात आफ्ना त आफन्त कोही छैनन भनेर निराश हुनुपर्ने । अझ जो जिल्ला बाहिर धेरै टाढा बसेका हुन्छन् ति सदस्यले आफु दाजु वा भाइ भन्दा निरीह भएको अब्यक्त पीडा महशुस गर्ने । समवेदना-पत्र लिएर आउने एकपछि अर्को टोलीका कारणले किरियामा बसेकाहरु दिशापिसाव समेत बन्द गरेर घरीघरी आँगनमा खडा भैरहनु पर्ने..? मृतकका घरमा समवेदना–पत्रका चाँङले मृतकको झझल्को घट्ने भन्दा ज्यादा बढ्ने । घरिघरी चसचस झस्काइरहने ।क्रमश बिर्सदै गएको पीडामा मृतक पृयजनकै अनुहार झलझली सम्झनाले बल्झाई रहने…? यो खालको संस्कृति र चलनलाई न्यूनिकरण गर्न आवश्यक छ।
अहिले आधुनिक भौतिक विकास सँगै मानिसको काम र ब्यस्तता बढेको छ । एक्ला–एक्लै भन्दा सामुहिक कामबाट मानिसले बढीलाभ पाउन सकिन्छ भन्ने मान्यता विभिन्न सहकारी संस्थाहरुको संस्थागत क्रियाकलाप र ति क्रियाकलापबाट प्राप्त भएका उपलब्धी हेरे पुग्छ । यहि मान्यतालाई दृष्टिगत गरेर होला टोल छिमेकमा मरिमराउ पर्दा आफु आबद्ध भएको सामाजिक संघ÷संस्थाबाट एकै पटक भेला भएर समवेदना प्रकट गर्न दश दिन भित्रै समवेदना दिन जाने चलन छ । त्यसो भन्दैमा समवेदना दिनु पर्ने जस्तो संवेदनशील कुरालाई हतार गर्ने, ढर्रा बढाउने, लेखाईको शुद्धा–शुद्धिलाई ख्याल नगर्दा मृतकका परिवारजनलाई सान्त्वना भन्दा बढी पीडा र आघात समेत पुग्दछ । किरियापुत्रीलाई हिडडुल गर्न सहज र ब्यवस्थित ठाँउ बनाउँनुको सट्टा रात्री कालीन जाग्रामेका लागि तास खेल्ने ठाँउ सुरक्षित गर्न महत्व दिने जस्ता कुराले झनै महत्व पाएको देखिन्छ ।
अतः समवेदना पत्र दिने कार्यलाई कसरी आत्मिक बनाउँन सकिएला त ? अन्तरेले, आफ्नो साथीले पिताजीको दशगादी कामबाट उत्रिए पछिको भेटमा सोध्द्धा, अन्तरेका मित्र भन्नु हुन्छ– “टोल छिमेकमा घट्ना घट्दा समवेदना, श्रद्धान्जली दिनु दूःखमा हामी पनि साथै छौं, है ! भनेर, शोक सन्तप्त परिवारजनलाई, ईष्टमित्र छर–छिमेकीले ढाडस दिनु, दुखमनाउँ गर्नु, नजिकिनु स्वाभाविकै मानिन्छ । यो चलन उतिसारो नयाँ होईन । मरिमराउ भएको बेला आफन्त, नातागोता, साथीभाई आएर बोलाउँने चलन आदिम कालदेखी चल्दै आएको प्रचलन हो । यो लिखित रुपमा दिई रहनु पर्दैन । लिखित समवेदना दिनाले कतिपय ठाँउमा दाजुभाइ दिदीबहिनीमा अनि देउरानी जेठानीमा मतभेद समेत बढेको पाईन्छ । दुरदराज माईती भएका बुहारीहरु टाढाबाट आएका छोरीहरुले भन्ने गर्छन “आफ्ना त साथी भाई पनि उत्तै रहिहाले ? कस्ले ल्याईदिने समवेदना ? हुने हेरुकैले त ल्याउने हो नि !” यो भावना संग प्रत्यक्ष जोडिने कुरा भएको हुनाले एक-अर्कामा छेडखानी बढ्ने । सानो चित्त हुनेहरुमा काममा बसैकै समयमा मनमुटाव बढ्ने गर्दछ । तर अहिले समाजमा कुनैपनि साथीभाईको आफन्त स्वर्गेवास भएको खण्डमा समवेदना–पत्र दिनु पर्ने एउटा अनिवार्य वा मुख्य काम जस्तो बनाईएको छ । यो अनिवार्य काम थिएन, जब जिउँदो हुँदै त्यस्ता मित्रको घरमा कमसेकम एकपटक पुगेर साथीका बा, आमा र अन्य सबै परिवार सँग–सँगै चिनजान गर्ने । सँगै बसेर भलाकुसारी गरेर सञ्चो बिसञ्चो, स्वास्थ्य अवस्थाका बारेमा सोध्नु उत्तम होला । एक गिलास पानी खाएर हिड्नु उत्तम हुन्छ । साथीकै आफन्त भए पनि देखेको तर केही निजको बारेमा थाहा नपाएको अथवा जिवनमा कहिल्यै नदेखेका मान्छेको लिखित रुपमा समवेदना गर्नु उत्तिसारो पाच्य लाग्दैन मलाई त ।” साथीको, कुरा सुनेर अन्तरे दङ्ग प¥यो ।
धन्यवाद ।।।
हाल- पाँचथर फिदिम ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


