
झापा, १ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार डेङ्गु सङ्क्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै सङ्क्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।
सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरी जिल्लामा मात्र कुल सङ्क्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन् । महाशाखाका निर्देशक डा मरासिनीले डेङ्गु रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिनुभएको छ ।
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



