
नेकपा माओवादी केन्द्रले भदौ १६ गतेबाट ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गदैर्छ । देशभरका ७५३ वटा पालिकामा एकै साथ उद्घाटन हुने सो अभियानका लागि पार्टीका केन्द्रदेखि वडासम्मका सबै कमिटी तयारीमा जुटेका छन् ।
पार्टी जिल्ला समन्वय समितिहरुले अभियानको तयारी तीव्र रुपमा गरिरहेका छन् । ३ महिने अभियान लगायत पार्टीका गतिविधिका विषयमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका अध्यक्ष राजु आचार्य अग्निसँग पत्रकार झुलन रेग्मीले गरेको कुराकानीको संक्षेप :–
माओवादी केन्द्रले‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’शुरु गर्दैछ । किन?
माओवादी केन्द्र जनताबाटै उठेको पार्टी हो । जनताका आधारभूत सवालहरू जस्तै लैंगिक, जातीय, क्षेत्रीय, वर्गीय समस्याहरूलाई एकरुपतामा, राज्यको अग्रगामी रुपान्तरण गरेर समस्याको समाधान गर्ने भनेर हामीले आन्दोलनको शुरुवात गरेका हौँ । जनताले त्यसलाई अनुमोदन पनि गरेको हो । अहिलेको परिवर्तनको मूल श्रेय माओवादीलाई जान्छ । तर, पछिल्लो समय त्यो मान्यताबाट धर्मराएको जस्तो, आफ्नो एजेण्डाहरूबाट डगमगाएजस्तो, क्रान्तिकारी धारमा शिथिलता जस्तो देखिएको थियो । त्यसलाई हल गर्नका निम्ति हामीले अभियान चलाउने निर्णय गरेका छौँ । यो अभियानपछि माओवादी केन्द्र जनताले भरोसा गर्ने पार्टी बन्छ । अहिले सरकारले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा जुन अभियान चलाएको छ । एक प्रकारले विश्वास आर्जन गर्दै गइरहेको पनि छ । यसरी सरकारको काममार्फत् पनि जनताको विश्वास आर्जन गर्नका निमित्त पार्टीले यो अभियान सञ्चालन गर्न लागेको हो ।
त्यसो भए पार्टीको जनतासँगको सम्बन्ध टुट्दै गएको महसुस भएको हो ?
जनताले सामान्यतयाः सत्ता र राजनीतिक पार्टीबाट छोटो समयमा, सजिलो उपायद्वारा आफ्नो समस्या समाधान होस् भन्ने अपेक्षा राखेका हुन्छन् । जनताको सेवा गर्ने पद्धति मन्द हुने र जनताको अपेक्षा तीव्र हुने स्थितिमा जनतासँगको सम्बन्ध बिग्रिन्छ । जनताको आधारभूत आवश्यकतालाई पहिचान नगर्नु वा नजरअन्दाज गर्नु, बरु निहित र सानो स्वार्थ समूहका लागि मात्रै बैठक केन्द्रित हुँदाखेरी जनताबाट टाढिने हुनसक्छ । त्यसलाई हल गर्नका निम्ति जनतासँग सम्बन्ध राख्नुपर्छ, जनतासँग एकाकार हुनुपर्छ । जनताको समस्याको समाधान गर्नका निम्ति अगुवाइ गर्ने प्रयत्न गर्ने पार्टी भयो भने जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बन्छ भन्ने बुझाई हो ।
क्रान्तिकारी पार्टी माओवादी केन्द्र अहिले समाजको अपेक्षाभन्दा पछाडि हिँडिरहेको छ भनिन्छ नि ?
समाज जहिले पनि अग्रगामी हुन्छ । अर्कोतिर एक जमानाको क्रान्तिकारी पार्टी सधैँ क्रान्तिकारी नहुन पनि सक्छ । पार्टी सधैँ क्रान्तिकारी भइराख्नका लागि उसले आफूलाई निरन्तर नवीकरण गर्नुपर्छ, रुपान्तर गर्नुपर्छ । त्यो भनेको उसको विश्व दृष्टिकोणमा, विचारधारामा, राजनीतिक उद्देश्यमा, सांगठनिक संरचनामा र कार्यशैलीमा नवीकरण गर्ने हो । यो विषयलाई एकीकृत ढंगले अगाडि बढाउन सक्ने पार्टीले मात्र क्रान्तिकारी चरित्र जोगाइराख्छ र समाजको अगुवाइ गर्छ । त्यसमा केही अन्तरविरोध देखाप¥यो भने समाजको पछि–पछि हिँड्ने पार्टी मात्रै बन्न सक्छ । र, आफ्नो औचित्य गुमाउन पनि सक्छ ।
माओवादीको एजेण्डामा देश अगाडि बढिरहेको छ । तर, किन पार्टी कमजोर बन्दै गइरहेको छ त ?
विल्कुल गलत विश्लेषण हो । यो त सम्भवै छैन । माओवादी सिद्धिनु भनेको देश प्रतिगामीको हातमा जानु नै हो । किनकि माओवादीको एजेण्डामा देश अगाडि बढेको छ । यो एजेण्डालाई संरक्षण र विकास गर्नु माओवादीकै कत्र्तव्य हो । सबै पार्टीहरूमा केही न केही प्रतिशत प्रतिगामी शक्तिहरू छन् । त्यसले अहिले पनि गणतन्त्रलाई कसरी धरापमा पार्ने षडयन्त्रहरू गरिरहेका छन् । त्यसले गर्दा यदि माओवादी कमजोर भयो भने देश र जनताका लागि सबैभन्दा ठूलो समस्या हुन्छ । त्यसैले माओवादी कमजोर हुँदैन । माओवादीले जुन नीति लिएको छ, त्यो हिसाबले अभियानलाई हामीले ठीक ढंगले अगाडि बढायौं भने २०८४ को चुनावमा माओवादीमय देश बन्छ ।
तपाईंको विचारमा पार्टी संगठन कस्तो हुनुपर्छ ?
पहिलो, बैठक बस्नै नसक्ने भद्दा कमिटी हुनु हुँदैन । बैठकमा जनवादी तरिकाले छलफल हुनसक्ने, आफ्नो समस्या बैठकमा राखेर समाधान गर्न सक्ने हुनुपर्छ । दोस्रो, नेतृत्व चयन पनि जनवादी तरिकाले हुनुपर्छ । त्यो भनेको कार्यकर्ताले नेता छान्ने हुनुपर्छ । नेताले कार्यकर्ता टिप्ने होइन कि, कार्यकर्ताले नेता छान्ने नीति अख्तियार गर्नुपर्छ । तेस्रो, जनतासँग ‘रोटेसन’मा रहनुपर्छ । सत्तामुखी मात्रै हुने होइन । उत्पादन, जनसम्बन्ध र सरकारी क्षेत्रमा समायोजित विन्यास गर्ने । त्यो भनेको कुनै मान्छे सधैँ सत्तामा रहने र कोही मान्छे सधैँ सडकमा घुमिराख्ने स्थितिको अन्त्य हुनुपर्छ ।
पार्टीका हरेक कमिटीमा आन्तरिक निर्वाचनमार्फत् नेतृत्व चयन गरिनुपर्ने आवाज पनि उठ्ने गर्छ । त्यो कति सम्भव छ ? कति आवश्यक छ ? माओवादीले त्यो अभ्यास गर्न आवश्यक छ कि छैन ?
माथि फर्किएको संगठनलाई तल फर्काउनका निम्ति निर्वाचन भनिएको हो । जनता र कार्यकर्तातिर अर्थात् भू–तहतिर फर्काउने भनिएको हो । फर्काउने भन्ने विधिको मात्रै कुरा होइन । हामीले मान्यता पनि राखेका छौँ, निर्णायक को हो ? निर्णायक त कार्यकर्ता हो, जनता हो । त्यसो भए केही उपल्ला कमिटी, केही नेता विशेष मात्रै निर्णायक होइनन् । आम मान्छे निर्णायक हुन् भन्नका निम्ति पनि हामीले पार्टीलाई जनतातिर फर्काउनुपर्छ । त्यो सम्भव पनि छ, आवश्यक पनि छ ।
आगामी २०८४ को चुनावमा माओवादी २०६४ कै अवस्थामा पुग्छ ?
हामी सफल हुन्छौँ । माओवादी बलियो नभइकन देशले विकास र समृद्धिको फड्को मार्दैन । त्यसैले देशलाई सुरक्षित गर्न र विकासको दिशामा अगाडि बढाउन माओवादी नै चाहिन्छ । अन्य शक्तिले देशलाई विकास र समृद्धिको बाटो लग्न सक्दैन । अहिले देखिएका नयाँ शक्तिहरू तत्कालका लागि मात्रै हो ।
जनाधार गुम्दै जानुमा नेतृत्वको कमजोरी हो ?
मुख्यतः कमजोरी नेतृत्वकै हुन्छ । तर, यसको जिम्मेवारी सबैले लिनुपर्छ । कतै न कतै हामी पनि बिग्रेका छौँ कि । तर, मुख्यरुपमा माथि अलि निगरानी गरेको भए यतिसम्म बिग्रिने थिएन । अहिले राम्रो ढंगले निर्णयहरू भएका छन् । निर्णयहरूलाई सही ढंगले लागू गर्न सक्यौँ भने फेरि पहिलेकै अवस्थामा फर्किन सक्छौँ । वास्तवमा हामीले जनतामा बुझाउन नसकेकै हौँ । अन्य दलभन्दा हामी जसरी फरक देखिनु पर्दथ्यो, त्यो फरक नदेखिएकै कारणले सबै नै उस्तै हुन् भन्ने भ्रम जनतामा परेको छ ।
माओवादी केन्द्रले काम गरेको अपेक्षामा जनताको मन जित्न नसकेको हो त ?
दलीय प्रणालीमा देशलाई सबल बनाउनका निम्ति त्यसको अगुवाइ गर्ने पार्टी सबल हुनुपर्छ । राजनीतिक पार्टी सबल हुनका निम्ति त्यसको संगठनात्मक प्रणाली, नेतृत्व–कार्यकर्ताको जनतासँगको सम्बन्ध सजीव हुनुपर्छ । दोस्रो कुरा, अहिले देशमा जुन समस्याहरू देखा परिरहेका छन् । समग्र राजनीतिमा समस्या देखापरेको छ । राजनीतिक पार्टीहरूभित्र समस्या देखापरेको छ । त्यो चुरोको विषयमा मेरा केही मान्यता छन् । जस्तै, समाज बदलियो । तर, समाजको अगुवाइ गर्ने राजनीतिक पार्टीहरू र तिनका संरचनाहरू समाजकै तीव्रतामा बदलिन सकेनन् । जसले गर्दा विरोधाभाष र अन्तरविरोध उत्पन्न भयो । त्यसलाई हल गर्न या त समाज पछाडि फर्किनुप¥यो । या त समाजको अग्रगामी चरित्रलाई सम्बोधन गर्न सक्नेगरी पार्टी संरचनाको रुपान्तरण हुनुप¥यो । समाज त पछाडि फर्किँदैन । त्यसको नियम नै हो । त्यसैले पार्टी नै अगाडि बढ्नुपर्छ ।
सुखानी सन्देशबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


