
झापा, ११ भदौ । आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सम्बन्धी पालिकास्तरीय समीक्षा तथा समन्वय बैठक हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सबै शाखा प्रमुखहरूसहित स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पोषण सम्बन्धी आधारभूत जानकारी गराइएको थियो । यसैगरी ख्याउटेपन, रक्त अल्पता कसरी कम गर्ने लगायतका विषयमा जिल्ला संयोजक नेपाल जनस्वास्थ्य तथा शिक्षा समूहका झापा संयोजक विश्वास सुवेदी र मुख्य प्रशिक्षक विनोद खनालले प्रशिक्षण दिएका थिए। बौद्धिक विकासको लागि समतामूलक पोषण, मानवको बौद्धिक विकास लगायतका विषयमा छलफल गरिएको थियो ।
त्यसैगरी स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलले हालसम्म भए गरेका कार्य र आगामी दिनमा स्वास्थ्य शाखाले वार्षिक कार्यक्रम बनाउदा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए। कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष लिङदेनले आमनागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा सहज रूपमा पाउनुपर्ने र कुपोषण लगायतका समस्या समाधान गर्न गाउँपालिकाले प्रयास गरिरहेको बताए।

त्यसैगरी स्वास्थ्य शाखाका प्रकास खतिवडाले नियमित भए गरेका कार्यहरुको जानकारी गराएका थिए। विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग रहेको कार्यक्रममा नेपाल जनस्वास्थ्य तथा शिक्षा समूहको प्राविधिक सहयोग रहेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



