
रिकेश निरौला
हजारौं नेपाली जनताहरुको बलिदानबाट २४० वर्ष लामो इतिहास बोकेको एकात्मक राजतन्त्रको विधिवत् रुपमा अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासनको व्यवस्था लागुभएको आज १५ वर्ष पुरा भएर १६ बर्ष लागिसकेको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते शाहवंशीय राजतन्त्रको विधिवत् रुपमा अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतत्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक संविधान सभाको बैठकबाट घोषणा भएको थियो ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी ल्याएको गणतन्त्रमा हरेक नेपाली नागरिकहरुले सरकारप्रति निकै ठूलो आशा राखेका थिए । तर, आजको दिनसम्म आइपुग्दा उक्त जनताहरूको आशा निराशामा परिणत हुँदै आएको छ । देशले समृद्धि र विकासको पाटोमा फड्को मार्ने, प्रत्येक नेपाली नागरिकहरूले राज्यबाट समान हक अधिकार पाहुने जस्ता अन्य थुप्रै चाहनाहरु अझै अधुरै छन्न । आज गणतन्त्र ल्याएको यतिका वर्ष बितिसक्दा पनि अझै देश रुमल्लिएकोले गर्दा जनतालाई पिरोलेको छ ।
दश वर्षे सशस्त्र जनयुद्ध र उन्नाइस दिने जनआन्दोलनको बलमा त्याएको गणतन्त्रले आम जनताले आशा गरेजस्तो उपलब्धि अझै हासिल गर्न सकेको छैन । यो तीतो यथार्थलाई अधिकांश जनताहरूले औंल्याउने गरेका छन् । ज्यालादारी र मजदुरी गरेर आफ्नो दैनिक जीवन गुजारा गर्ने, छोराछोरी पढाउने र अन्य घर खर्च चलाउने नागरिकलाई भने लोकतन्त्र, गणतन्त्र र सङ्घीयता जस्ता विषयले छोएको छैन । ठोस रूपमा भन्ने हो भने यो व्यवस्थाले श्रम गर्ने मेहनति जनताको जीवनमा खुसीयाली ल्याएको छ ? यो गणतन्त्रले दीनदुःखीको दर्दमा मल्हमपट्टी लगाउन सकेको छ ? खासमा भन्नू पर्दा, यो राज्यबाट अहिलेको स्थितिमा जनताले आफ्नो जीवनमा हुने कुनै किसीमको खुशीयाली पाएका छैनन् । धर्मनिरपेक्षता र सङ्घीयतासहितको गणतन्त्रात्मक राज्यवस्थाले नेपाली जनताको दीर्घकालीन सपनाहरुको सम्बोधन गर्न सकेको छैन । अनि त्यस्तो गणतनको हामीलाई के काम ? त्यस्तो गणतन्त्र हामी ल्याएको कदापि हुँदै होइन ।
हामीले ल्याएको गणतन्त्रले यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुने प्रेरणा दिन सक्नु पर्छ । प्रत्येक नागरिकको अभिव्यक्ति स्वततन्त्रता, मानव अधिकारको संरक्षण, कानूनको शासन, सरकार जनताप्रति जवाफदेहीता, नागरिक सहभागिता, शान्तिपूर्ण तवरले शक्ति हस्तान्तरण, सामाजिक समानता, सार्वजनिक कल्याण, शिक्षा र ज्ञानको प्रवर्द्धन, विविधता र समावेशीकरणको प्रवर्द्धन, संस्कृतिक सम्पदाको संरक्षण, स्वदेशमै रोजगर सिर्जना जस्ता थुप्रै हक अधिकारको व्यवस्था गर्ने हुनु पर्छ । तर, अझै पनि हाम्रो मुलुक केही नेताहरूको सत्ता र कुर्सीको लोभले गर्दा राजनीतिक अस्थिरतातर्फ उन्मुख छ ।
समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा पनी सत्ताधारी नेताहरू आफ्नै स्वार्थमा केन्द्रित भएको अनुभूत जनताले गरिरहेका छन् । गणतन्त्र प्रातिका लागि लडेका सबै शक्ति एकताबद्ध भएर जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु राष्ट्रिय आवश्यकता भएको छ । यदि एकताबद्ध भएर जनचाहना अनुरूपको काम गर्न सकिँदैन भने हामी आम जनतालाई यस्तो गणतन्त्र कदापि चाहिँदैन ।
गणतन्त्र आएपछि मुलुकमा भ्रष्टाचार झनै मौलाएको छ साथै बेरोजगारी, नातावाद, कृपावाद, हत्या, हिंसा, बलात्कार, दाइजो प्रथा, छुवाछूत विभेद अझै हटिसकेको छैन । यति गर्नका लागी मात्र हजारौं जनताहरूले बलिदान दिएर लाखौं जनताहरू सडकमा उत्रेर गणतन्त्र लगाएका होइन ।
हामीले ल्याएको गणतन्त्र नेपाली जनताको निकै ठूलो त्याग र बलिदानबाट प्राप्त भएको हो । आम जनताको बलिदान माथि शासकहरूले मजाक गरिरहेका छन्, यसलाई अब जनताहरुले नै सच्याउने बेला आएको छ । किनकी गणतन्त्र आफैंमा नागरिकलाई जवाफदेही बनाउने व्यवस्था पनि हो । नेपालमा गणतन्त्र खराब भएको भने होइन, यसलाई सञ्चालन गर्ने व्यक्ति खराब भएका हुन् र अहिले जनस्तरबाट खराब शासकहरुका विरुद्धमा आवाज उठिरहेको छ यो सराहनीय पक्ष हो र यो गणतन्त्र बलियो बनाउने आशा पनि हो ।
अहिले धेरै जसो निरंकुशतावादी र जनविरोधी शक्तिले यो जनताको आक्रोशलाई आफ्नो स्वार्थ पूरा गर्ने हतियार बनाउन सक्छन्, त्यसतर्फ भने स्वतन्त्रता, नाागरिक सार्वभौमत्ता र गणतन्त्रमा विश्वास गर्ने प्रत्येक नागरिकले चनाखो हुनुपर्छ । किनकी गणतन्त्रको विकल्पमा निरंकुशतावाद कदापि हुन सक्दैन । मुलुकमा मजदुर, गरीब, दलित, विपन्न परिवारमा हाँसो, खुशी साथै नागरिक सहभागिता र अभिव्यक्ति स्वतन्त्रता आएको दिन मात्र गणतन्त्रको अनुसूति मिल्ने छ ।
हाम्रो देशमा अझै नि पूर्ण रूपले गणतन्त्र आको छैन, जनताले भने झै भाको छैन, निरङ्कुश दासत्व, नातावाद, कृपावाद हामीलाई चाहिंदैन, गणतन्त्र नल्याई त मुक्ति पाँइदैन । त्यसैले म गणतन्त्र ल्याउन अहम् भूमिका खेल्नुहुने राजनीतिक दलका नेता तथा कार्यकर्ता हरूसँग विनम्र अनुरोध गर्दछु कि सङ्कटमा परेको वा पारिएको यो गणतन्त्र र संविधानलाई आफ्नो प्रमुख एजेण्डा बनाएर गम्भीर विचार विमर्श, एकता र समाधानमा जुटिहाल्नु होस् । अन्यथा निकट भविष्यमा न तपाईहरु रहनु हुनेछ, न तपाईहरूको पार्टी रहने छ, न त यो गणतन्त्र नै रहन्छ। आज तपाई केही सत्ताधारी स्वार्थी नेताहरूको कारणले गर्दा लाखौं नेपाली जनताहरुको त्याग र तपस्याले ल्याएको गणतन्त्र धरापमा परेको छ । आज पन्ध्र वर्षसम्म पनि आम नेपाली जनताले गणतन्त्र आएको अनुभूत गर्न नपाउनु भनेको हजारौं शहिदहरुको सपनाले सार्थकता नपाउनु हो ।
अहिलेको गणतन्त्रमा न आम जनताले खुलेर विरोध गर्न पाएका छन्, न त शन्तिपूर्ण वातावरणमा आन्दोलन गर्न पाएका छन् । यहाँ सरकारमा रहेका नेताहरु आफ्नो विपक्षमा वा विरोध हुने खाल्को कार्यक्रम कसैले आयोजना गर्न लागो भने हतार–हतार सुरक्षाको चुनौती देखाउँदै निषेधाज्ञा लगाइ हाल्छन् । बाहालबाल सम्माननीय प्रधान न्यायाधीशलाई समेत नजरबन्द गर्न भ्याइसकेको यो गणतन्त्रवादी सरकारले एउटा सामान्य नागरिकलाई नजरबन्दमा राख्दै विरोध प्रर्दशन गर्न निषेधाज्ञा लगाउनु सामान्य कुरा भइसकेको छ।
एउटा व्यवसायी साथै अभियान्तासँग डराएर थरथर काप्ने कस्तो गणतन्न हो ? हामी आम सर्वसाधारण जनताले यस्तो डरछेरुवा गणतन्त्र ल्याएको कदापी हुँदै होइन । आखीर नेपाली जनताले दुईतिहाइका साथ ल्याएको गणतन्त्र लाई कस्ले यस्तो कातर बनायो ? यसको मुख्य जिम्मेवार को हुने ? आज आम सर्वसाधारण नेपाली जनताहरुलाई उत्तर चाहिएको छ। अब जनतालाई झुटो आश्वासन हैन काम र बिहान–बेलुका माम चाहिएको छ । गणतन्त्रले नेताहरूको आसेपासे नातेदार, कार्यकर्तालाई हेर्यो तर सामान्य नागरिकको अवस्थालाई कहिल्यै हेरेन । जनताले ल्याएको व्यवस्थामा सबैभन्दा बलियो र सर्वशक्तिमान जनता नै हुनुपर्ने थियो, तर अहिले विभिन्न दलका नेता र कार्ययकर्ता बलिया भएका छन् । जनतालाई निर्वल बनाउनु नै गणतन्त्रिक मुलुकको लागि अत्यन्तै दुखदायी कुरा हो । अब पनि गणतन्त्रका पक्षधरहरु सबै सचेत भएर आमा जनताको स्वार्थमा काम नगरे आउने पुस्ताले यो गणतान्त्रिक व्यवस्थाको अनुभव गर्न नपाउँदै व्यवस्था साथै व्यवस्था सञ्चालन गर्ने व्यक्तिहरुको पत्तासाफ हुन केही समय मात्र लाग्ने छ । गणतन्त्रको नाम भजाएर सत्ताको मोहमा रहेका नेताहरुलाई यो कुरा स्मरर्ण रहोस् कि गणतन्त्र ल्याउन नेपाल आमाका हजारौं सर्वोत्तम देशभक्त छोराछेरीहरूले बलिदान दिएका थिए भने गणतन्त्र फाल्न आज पनि नेपाल आमाका हजारौं सच्चा देश भक्त छोराछोरी तयार भएका छन् । यो तिमीहरूकै कारणले गर्दा भएको हो र यसको मुख्य जिम्मेवार तिमीहरूनै हुनु पर्छ।
अन्त्यमा, २४० वर्ष लामो इतिहास बोकेको शाहवंशीय राजतन्त्रको अन्त्य गरी नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सडकदेखि सदनसम्म आवाज उठाउनै नेपाल आमाका लाखौं सच्चा सपुतहरुलाई सम्मान व्यक्त गर्दै आफ्नो अमूल्य जीवन देश र आम जनताहरूको लागि बलिदान गर्नु हुने अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


