सन्तोष शर्मा
झापा, १५ माघ । झापामा विगत १२ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरुद्धको अभियानलाई यो पटक सफल बनाउने प्रतिबद्धता जनाइएको छ ।
विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा झापाको भद्रपुरमा आज आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सहभागीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
कार्यक्रमा प्रदेशसभा सदस्य छविलाल चुँडालले हात्तीपाइले रोगको निदानका लागि प्रदेश सभामा कुरा उठाउने बताउनुभयो । “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै दिनु हुँदैन”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन सबैको सहयोग जरुरी छ, यसका लागि पाइलट प्रोजेक्ट चलाउनु पर्छ ।”
औषधि सेवन दर कम भएको भद्रपुर नगरपालिकामा थप कार्ययोजनाका साथ अभियान चलाइने नगरप्रमुख गणेश पोखरेलले प्रतिबद्धता जनाउनुभयो । “अघिल्लो वर्ष ३५ प्रतिशत थियो, जनप्रतिनिधको रुपमा कार्यभार सम्हालेपछि उक्त दर बढेर ५३ प्रतिशत पुगेको छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “हात्तीपाइले रोगलाई निर्मूल पार्न यो पटक लागि पर्छौं ।”
यता, ४३ प्रतिशत औषधि सेवन दरलाई ७१ प्रतिशतमा पु¥याउन सफल शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहङ थोप्राले जनशक्ति अभावसँगै मानिसमा चेतनाको कमीले लक्ष्य अनुरुप काम गर्न नसकिएको बताउनुभयो ।
गत वर्ष एकीकृत रुपमा जनशक्ति परिचालन गरेर टोलटोलमा अभियान चलाएकाले औषधि सेवन दर बृद्धि गर्न सकिएको बताउँदै उहाँले यो पटकको अभियानलाई निष्कर्ष पु¥याउने हरप्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले रोग निदानका लागि औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो । यहाँले जिल्लाका सबै पालिकासँग समन्वय गरेर अभियान सफल बनाउन लागि पर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
छलफल कार्यक्रममा स्वयम्सेविका सीता आचार्यले सरकारी कार्यालयका हाकिम र कर्मचारीहरुलाई औषधि सेवन गराउन सकस पर्ने गरेको बताउनुभयो । “हामी विपन्न र गरिब बस्तीमा चेतना नभएकाले औषधि खाँदैनन् भन्छौं”, उहाँले भन्नुभयो, “जान्ने बुझ्ने र ठूलाबडालाई औषधि खुवाउन हम्मे–हम्मे पर्छ ।”
झापा बाह्रदशी गाउँपालिकाकी नुतन साहले आफू विगत २० वर्षदेखि हात्तीपाइले रोगबाट पीडित भएको बताउनुभयो । “दुई ज्वरो आएर खुट्टा सुन्निन थाल्यो, भारत गएर उपचार गराउँदा हात्तीपाइले भएको थाहा पाएँ”, उहाँले भन्नुभयो, “औषधि खान थालेपछि केही सहज भयो, पहिला अहिलेजस्तो औषधि पनि पाइँदैन थियो, औषधि खाए रोगबाट बच्न सकिन्छ, सबैले औषधि सेवन गर्नै पर्छ ।”
शुरु–शुरुमा छिमेकीले ‘तिमीसँग बस्दा हामीलाई पनि सर्छ’ भन्ने गरेको सुनाउँदै उहाँले बिरामीले औषधि सेवन गरेपछि रोग सर्दैन भन्ने गरेको बताउनुभयो । आफू बसेको राधानगरमा धेरै जना हात्तीपाइले रोगबाट पीडित बनेको उहाँले बताउनुभयो ।
अर्का हात्तीपाइले रोग पीडित भद्रपुर–५ का रामप्रेम ठाकुरले हात्तीपाइले रोगबाट पीडित बिरामीका लागि राज्यले राहत र आत्मनिर्भर हुने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
गत वर्ष जिल्लामा ७८ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जनकारी दिनुभयो । “जिल्लाबाट हात्तीपाइले रोग उन्मुलन गर्न यो पटक औषधि सेवन दर ८० प्रतिशत भन्दा हुन जरुरी छ”, उहाँले भन्नुभयो, “नत्र अभियान असफल भएर दुई वर्ष थपिन्छ ।”
स्वास्थ्य कार्यालय झापा र भद्रपुर नगरपालिकाको आयोजना तथा सहारा नेपालको विश्वास परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । नेपालमा पाइने १० प्रकारका उष्ण उपेक्षित रोगहरुको निदानका लागि फेरमेडको आर्थिक सहयोगमा सहारा नेपालले विश्वास परियोजना सञ्चालन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक पवनकुमार राईले जानकारी दिनुभयो ।
यो वर्ष कोशी प्रदेशको झापा मात्र हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइँदै छ । नेपालसहित विश्वबाट सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।