
झापा, ७ फागुन । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव अग्रज पत्रकार चन्द्र भण्डारीसहित आठ जना पत्रकारलाई प्रेस स्वतन्त्र सेनानी सम्मान प्रदान गरिएको छ ।
नयन एड्भर्टाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेशखबर डटकम आफ्ने प्रथम वार्षिकोत्सवको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरेको हो । झापाका अग्रज पत्रकार भण्डारी, हर्ष सुब्बा, कृष्णविनोद लम्साल, भवानी बराल, शिबबहादुर कार्की, कृष्ण आचार्य, कौशल चेम्जोङ र सञ्जय सन्तोषी राईलाई सम्मान गरिएको हो । उनीहरूलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले सम्मान प्रदान–पत्र प्रदान गरेकी थिइन् ।
उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् । उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।
त्यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटुवाललाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन् ।
प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका बरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, वरिष्ठ पत्रकार हर्ष सुब्बा र चन्द्र भण्डारी, अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटा, पुरस्कृत व्यक्तिमध्येबाट सुरेन्द्र भण्डारी, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन कोशीका महासचिव सञ्जीव वाग्ले, प्रेस चौतारी नेपालका अनुशासन कमिटीका सदस्य त्रिलोचन पौडेल, प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।



