
तित्रा
‘हैन एइ केटा ! यो देशमा के हुन लाग्दैछ हँऽऽऽ? यतै भ्रष्ट, उतै भ्रष्ट, सर्वत्र छरष्ट ! छट्टु स्याल र ब्वाँसाहरूले देश सबै खुर्किएर खाएर सिध्याउने भए त ! उहिले पहिले मिडियाहरूमा सानो भ्रष्टाचारको खबर आउँदा देश हल्लिन्थ्यो, शासनसत्ता पल्टिन्थ्यो । अहिले त शासक नै भ्रष्टको संरक्षण गर्न लागी पर्छन् । न्यायालयले पनि हजार–लाखसम्मको भ्रष्टलाई जेलमा काचे पनि करोड–अरब–खरबका भ्रष्टलाई गउत गंगाजल छर्केर चोख्याउँछ ! ठूला भ्रष्टलाई कार्यालयमा ल्याएर बयान लिने आँट गर्दैनन्, बयान लिनै पर्ने भयो भने भ्रष्टकै घरमा पुच्छर हल्लाउँदै पुगेर बयानको नाटक गर्छन् । हतकडी लाउन त झन् यिनको काबु बाहिरकै कुरा भयो । जेल कोच्नु पर्नेलाई अस्पतालमा पुर्याएर सुताउँछन् ।…
…उद्योगी नाउँका ठगहरू सही सलामत कर तिर्नु त कता हो कता, बिजुलीको बिल पनि तिर्दैनन् । तिनकै चाकरी गर्न पार्टीका नेता आतुर हुन्छन् । के भा’को यो ?यस्तै हुन्छ शासन ?’ इत्यादि के–के फलाक्तै माइलाबा आएर आसन जमाए ।
नौरंगी कुरा कोरल्दै हिँड्ने बुढालाई मैले के भन्दिनु र ! उनका कुरामा सहीनथापिदिए त आइलागि नै हाल्छन् । र, मैले भनें– हो, माइलाबा हो ! सारै विसंगति विकृति बढेर गयो ।
बुढाले बीचैमा उछिनेर बोले– ‘म त्यसै भन्छु त ? अहिलेका पत्रकारले यतिविघ्न कुराहरू मिडियाहरूमा छरष्ट पार्दा पनि ए के हो त भनेर शासकहरू ठाडाकान लाउँदैनन् । अहिलेका पत्रकारहरू मुटु नभएकै रहेछन् । के चाहिँ भन्न बाँकी राखेका छन् र ? गणतन्त्रकी महारानीहरूका बारेमा लेखेकै छन्, गणतन्त्रका राजकुमारहरूका कर्तुतलाई जनसमक्ष ल्याएकै छन् । भ्रष्टाचारीकी मूलदेवी र शक्तिकी शुर्पणखालाई पनि छाडेका छैनन् । म्यादी मन्त्रीहरूको चलखेलका सम्बन्धमा त घण्टा–घण्टामा समाचार आइरहेकै छ । हैन हौ…यी पत्रकार भनेका आँटी नै हुँदाराँन् । म त छक्कै परेँ । आफू त वडा सचिवसँग पनि ठाडो बोल्न डराउँछु ।’
मैले भनें– पत्रकारहरूले लेखेर÷भनेर के भयो त ? कसैले पढ्दैनन् सुन्दैनन्, सुने पनि मतलब गर्दैनन् । कागज–मसीको नाश गरेर मिडियाका भाँडा रन्काएर मात्रै के हुन्छ र ? तपाईंले मुटु नभएका आँटी, खत्रा भनेका पत्रकारहरूपनि मोटो खाम भेट्टाए भने चूपचाप भत्ता खाएर बस्छन् अरे भनेको पनि म सुन्छु ।
अनि चूपचाप भत्ता खानेले हल्लाखल्ला भत्ता पनि खाँदा हुन् नि…! अहिले त विसंगति विकृति भ्रष्टाचार अपराध अनियमितता कहाँ छ भनेर खोज्ने नै होइन,बरु नभएको ठाउँ कतै छ कि भनेर खोज्ने हो । कुनै दूरदेश गाउँको प्राथमिक विद्यालयमा नानीहरूलाई दिएको लिटो–पिठोको खाजामा समेत हिनामिना हुन्छ ! हुँदै नभएका दलित नानीहरूको नाम लेखाएर देखाएर पैसा तानिन्छ मात्रै होइन, हुँदै नभएको विद्यालय शिक्षक कागजमा चैं देखाएर निकासा लिएर खान्छन्, कत्ति ठाउँमा खाइरहेका छन्! विद्याको मन्दिरमा त त्यसो गरिन्छ भने अन्य क्षेत्रको के कुरा गर्नु र ?
बुढा बोल्न थाले– ‘हैन होउ केटा ! म त्यसै छक्क पर्छु । के हुन आँटेको छ ? उखु किसानहरू उद्योगीले पैसा दिएनन् भनेर वर्षौंदेखि कराइरहेका छन्, मन्त्रीहरू भएकै ठाम्मा पुगेरसडकमा सुतेर आन्दोलन गरे । अनि बल्लतल्ल ती निम्छरा निरीह पीडित किसानहरूलाई फकाउन ती मन्त्री भनाउँदाहरूले ‘लौ,,, तपाईंहरूले अब यति दिनपछि आ–आफ्नो उखुको बक्यौता रकम पाउनु हुनेछ । चिनी फ्याक्ट्रीका मालिकहरूले अब तिर्छन्, ढुक्क हुनुहोस् । हामीले भन्दिया छौं, नदिए कार्वाही गर्छौं । अब तपाईंहरू आन्दोलन–सान्दोलन छोडेर घर फर्कनु होस्’ भनिराखेर एउटा चिर्कटोमा सहमति गरेजस्तो लेखिटोपलेरपठाइदिए ।…
…हरदम मलाई उदेकलाग्ने कुरो चैं के छ भने, ती उद्योगी भनिने सेठ–साहुकार मनुवाहरूसँग मन्त्रीको गोदवा पाएकाहरूको चैं के साइनो हुँदोर’छ कोनि…कहिल्यै दण्ड–कार्वाही गर्दै गर्दैनन् !ती उद्योगी–व्यापारीहरूले के बुटी सुँघाउँछन् कि अघोरीले चिहानघारीमा पुगेर मध्यरातमा मसान खेलाएजस्तै पो मन्त्रीहरूलाई फिनिनी–टिनिनी रिंगटा लगाइदि’राखेका छन् ! मन्त्रीको त बाक्के नै बस्छ, बोल्नै सक्तैनन् । ए बाब्बा… के जादुटुनामुना छ हौ ?मेरो त गिदीले काम गर्न छोडिसको ।…
…विदेशी पाउडर दुध ल्याउने व्यापारीसँग कस्तो लगनगाँठो कसेका छन्, मन्त्री÷सचिवहरूले ! किसानहरूले उत्पादन गरेको दूधचैं किन्न नलगाएर तिनलाई बाटामा दूध पोख्न बाध्य पारेर तिनै व्यापारीलाई पोस्छन् ! मिटरब्याज खानेहरू त नेता, साहु, सामन्त नै छन् । आफ्नै वर्गका तीबन्धुहरूलाई दण्ड गर्ने कुनै पनि तहको सरकारको ह्याउ नै पुग्दैन ! कृषि नाउँको ऋण अनुदान धूर्त छट्टु नेताहरूर तिनैका अघि–पछि गणेशचक्कर लाउने कार्यकर्ता÷गोल्यान जस्ता नक्कली किसान, तस्कर व्यापारीहरूले चप्काउँछन् ! र, त्यही भ्रष्टाचार गरेको जुठो मुखले मन्त्री भनाउँदाहरू देश विकासको भाषण भुक्छन् । कुनचाहिँ नेता भनाउँदाले बाख्रा पालनका नाउँमा आफ्नो रोगे रौं फेरेर चिल्लो सुकिलो बनेको कुरा त ३ करोड जनताले गीतै बनाएर गाइरहेकै छन् । कृषकले बीउ–मल कहिल्यै समयमा पाउँदैनन् । कमिशनको खेलले गर्दा बीउ पाइहाले भने पनि घोगो बालो र बाली लाग्दैन । यसरी हरेक आयस्रोत टाठाबाठाको कब्जामा छ । यस्तो भएपछि कसरी हुन्छ ?…
…सहकारीबाट जनताको रगत–पसिनाको रकम करोडौं बटुलेर एउटा ठग अपराधी भाग्छ । अपराधी फरार भन्दिएर सरकार कानमा तेल हालेर बस्छ । उसैको कतै त्यहीसँग साँठगाँठ पो छ कि भनेजस्तो अवस्था पनि छ । पार्टीभित्रका अपराधीहरूलाई त लाउके–टाउके नेता मिलेर छाता ओढाइहाल्छन् । पैसा पुर्यायो भने जस्तै अपराधी–पापी–बलात्कारी–हत्याराले पनि तुरुन्तै माफी पाउँछ । के भा’को हो यस्तो ? यसरी कति दिन चल्छ ? लु भन् त केटा !…
बुढाले भन्दै गए– देशको मूल समस्या कहाँ छ, कसैलाई अत्तोपत्तो छैन, सबै होहोरेमा कुदेका छन् । देशमा वर्गीय समस्या छ, दुनियाँलाई चाहिँ जातका पछाडि दौडाएका छन्– तिनै क्रान्तिकारी बिल्ला भिरेका नेताहरूले ! दलाल पूँजीपतिहरूले देशको उद्योग समाप्त गरेर विदेशबाट सामान ल्याएर नाफा हसुरिरहेका छन् । आर्थिक मन्दीलेअर्थतन्त्र खोक्रो पारिसक्यो । खोइ… यसका बारेमा मान्छे बोलेका ? खोइ… यसका बारेमा संसद्मा छलफल भएको र बोल्नेहरूले बोले पनि ३ तले सरकारहरूले चैं पिटिस्सै ध्यान नदिएका ? देश विदेशीहरूको खेलमैदान बनेको छ, विदेशीहरूको गिद्देदृष्टि नै परेको छ । तिनको हस्तक्षेप बढेर गइरहेको छ । खोइ… यसमा बारेमा चिन्तन ? खोइ छलफल ? निकास के हो ? चाहिने कुरामा त कसैको ध्यान नै पो छैन !…
…महंगीका बारेमा किन आन्दोलन÷संघर्ष नभएको ?मान्छे किन सडकमा उत्रिएर सरकार भनाउँदोको लँगौटी नतानेको ?नेता र मन्त्रीहरूलाई त उद्योगपति–व्यापारीहरूले गोजीमै बोकेर हिँड्छन्, नचाउँछन् भन्ने कुरा अस्ति गएको दशैंको चिनी काण्डले स्पष्टै छ त ! सबै छयाङ्गै ह्वाङ्गै छ । नेता व्यापारी भए, व्यापारी नेता भए । जति हल्ला भइरहेको छ, त्योभन्दा बढ्ता भ्रष्टाचार चोरी ठगी तस्करी कमिशनखोरी माफियागिरी भइरहेकै छ, के गर्नु हल्ला मात्रै गरेर? त्यो २७५ को पल्टन संसद्मा तलब–भत्ता मात्रै खाएर बस्छ कि देशका बारेमा केही सोच्छ÷बोल्छ पनि ? तिनका मुखमा कस्ले बुजो लाइदिएको छ ?’
मैले अलिक नम्र भएर भनें– हैन होउ माइलाबा ! तपार्इं के औधि औडाहा पालेर बस्नुभएको ? तपाईं प्रधानमन्त्री भएर देशलाई ठीक बाटोमा हाँक्ने मान्छे होइन । न्यायाधीश बनेर सत्य फैसला गर्ने पनि होइन । अपराधी÷चोर÷डाकाहरूलाई पक्रिने मान्छे पनि होइन । अनि तपाईंको चिन्ताले देश थामिन्छ ? संगति आउँछ ? तपाईंत आफ्नै कलेजो मात्रै डढाउँदै हुनुहुन्छ । हात्ती रमाएर नाचे पनि, रिसाएर उफ्रिए पनि माडिने भनेको दुबो नै हो भन्ने त बुझेकै होला ! तपाईंले थामेर सगर थामिन्छ ?…
मैले भनिनसक्दै बुढा बुरुक्कै उफ्रिएर झाँस्न थाले– ‘तँ जस्तो लोदर पामर लाछीसँग के कुरा गर्नु ? कुन दिन कताबाट को आएर नाङ्गै पारेर तँलाई घरबाटै लछारपछार पारेर खेद्छ अनि मात्रै मेरो कुरा बुझ्छस् । कस्तो गोज्याङ्ग्रो र’छ यो…’ भन्दै बुढा उठेर बाटो लागे । अनि मात्रै मेरा कान न्याना भए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


