बिर्तामोड, १८ चैत । झापामा १० हजार भन्दा बढी सहकारीकर्मी र सदस्य एकै ठाउँमा भेला हुँदैछन् ।
६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यही चैत २० गते झापाको बिर्तामोडमा उनीहरु भेला हुने भएका हुन् । सहकारी दिवस मनाउन र सहकारी अभियानलाई अझ सशक्त रुपमा अघि बढाउन यहाँको सहकारीकर्मी र सदस्य एकत्रित हुन लागेको आज जिल्ला सहकारी संघ झापाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघका अध्यक्ष गणेश ढकालले “सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मूल नारा अन्य थप २९ वटा नारासहित भव्यताका साथ सहकारी दिवस मनाउन लागिएको बताउनुभयो । ‘अबको सहकारी अभियानलाई सबल र बलियो बनाउन सहकारी क्षेत्रमा सुशासन र प्रविधियुक्त बनाउन जरुरी छ’, उहाँले भन्नुभयो, ‘२०३० सम्म सहकारीलाई प्रविधियुक्त र एकीकृत गर्ने लक्ष्यका साथ सहाकारी महासंघ लागेको छ ।’
सहकारीलाई सुरक्षित बनाउन सुरक्षाका ५ वटा क्षेत्रलाई समेटेर स्मारिक प्रकाशन गर्न लागिएको बताउनुभयो । ‘अहिले सहकारी र अन्य वित्तीय संस्थाको ऋण खाएको मान्छे ऋण नतिरी एसीसहितको कारमा हिँडिरहेका छन्’, उहाँले भन्नुभयो, ‘तर, सहकारी संस्थाको सञ्चालक भएकै कारण जेल जानुपर्ने अवस्था रहेको छ ।’ सहकारीमा देखिएको चुनौती र समस्या चिर्दै अघि बढ्न पनि सहकारी दिवसलाई पृथक र भव्य तरिकाले मनाउन लागिएको उहाँले बताउनुभयो ।
संघले सहकारीमाथि भइरहेको आक्रमणलाई निस्तेज गर्न सहकारी व्यवसायको सुरक्षामा केन्द्र्रित भई संघका सदस्य संघ÷ संस्थाको माग बमोजिम बिर्तामोडमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार समिति, उप–समिति, कर्मचारी र सदस्यसहित १० औं हजार सहकारीकर्मीहरुको उपस्थितिमा भव्यताका साथ मनाउने तयारी गरेको हो ।
दिवसलाई सफल बनाउन अध्यक्ष गणेश ढकालको संयोजकत्वमा ५०१ सदस्य मुल समारोह समिति, ४१ सदस्यीय सचिवालय गठन गरी प्रचार–प्रसार र कार्यक्रमको भव्य तयारी गरिएको छ । कार्यक्रममा २०० जना स्वयम्सेवक परिचालन हुनेछन् ।
चैत २० गते बिहान झाँकीसहितको ¥याली निकालिने छ । जसमा पूर्वतर्फ सुगम पेट्रोल पम्प, पश्चिमतर्फ भगवानचोक उत्तरतर्फ महानन्दचोक, दक्षिणतर्फ बिर्ताबजार हँुदै मुक्तिचोक परिक्रमा गरिने छ । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमखु आतिथ्य रहने संघले जनाएको छ । कार्यक्रममा सहकारी व्यक्तित्व मिनराज कडेललाई सम्मान गरी सहकारी दिवस मनाउने सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका सदस्य केशव बस्नेत, कृष्ण पौडेल, व्यवस्थापक सञ्जु देवान लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।