सन्तोष शर्मा
झापा, २१ साउन । कृषि क्षेत्रमा भविष्य देखेका सात जना युवाको समूह यतिबेला किवी र लोठसल्ला (टेक्सस मेरिई)को खेतीमा लागेका छन् ।
सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरुले किवी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किवी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ ।
कृषि क्षेत्रमा भविष्य देखेपछि सीपी कडरिया, तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किवी र लोठसल्लाको खेती गर्ने योजनाको हो ।
बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सीपी कडरिया बताउनुहुन्छ । नेकपा (माओवादी) केन्द्रका झापा सह–इञ्चार्ज समेत रहनुभएका कडरिया भन्नुहुन्छ, “राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।”
मुलुकको कूल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दीगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको कडरिया बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी कृषिप्रधान मुलुक भन्छौं, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौं ।”
मुलुकको आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उहाँको भनाइ छ । २०७२ सालमा शुरु गरिएको किवी र लोठसल्लामा हालसम्म रू तीन करोड ५० लाख लगानी भइसकेको छ ।
किवी फलफूलको रुपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उहाँ बताउनुहुन्छ ।
“गत वर्षदेखि किवी उत्पादन शुरु भएको छ, यो वर्ष देखि हामी लगानी बन्द गर्छौं”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।”
एउटा किवीको बोटले तीन वर्षपछि उत्पादन दिने उहाँको भनाइ छ । एउटा बोटबाट वार्षिक ३५ देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ भने वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताउनुभयो । एउटा बोटमा वार्षिक पाँच सयदेखि छ सय रुपैयाँ लगानी हुने जनाइएको छ ।
गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किबी उत्पादन भएको कडरिया बताउनुहुन्छ । “इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको तथ्यांक छ”, उहाँले भन्नुभयो, “उत्पादन अझै बढ्दै जाने देखिन्छ ।”
नेपाली कृषकले किवी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नु परेको उहाँको अनुभव छ । उत्पादनस्थलदेखि बजारसम्म पु¥याउन ‘कुलिङ चेन’ जरुरी हुने उहाँले बताउनुभयो । “भण्डारणका लागि उचित व्यवस्था नहुँदा कृषकले उत्पादन गरेको किवी चाँडै बिग्रिने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा कृषकले मूल्य पाएका छैनन्, बजार पनि कस्किएको छ ।”
बेमैसममा नेपालमा न्यूजील्याण्डबाट किवी आयात हुने गरेको कडरिया बताउनुहुन्छ । विश्वमा सबैभन्दा धेरै न्यूजील्याण्ड र चीनमा उत्पादन हुने किवीले ओगटेको उहाँको भनाइ छ । “यहाँ उत्पादन हुने किवीको स्वाद राम्रो छ”, उहाँले भन्नुभयो, “किवी उत्पादन गरेर विश्व बजारमा पु¥याउने सोचका साथ विभिन्न एजेन्सीसँग कुरा गरिरहेका छौं ।”
कृषकको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शितभण्डार गृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताउनुभयो । “राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “वास्तविक कृषकले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।”
किवी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ । जसका लागि परागसेचनको महत्वपूर्ण भूमिका हुन्छ । हावा र माहुरीको भरमा परागसेचन हुँदा किवी खेतीमा चुनौती देखिएको कडरियाले बताउनुभयो । परागसेचनका लागि चीन र न्यूजील्याण्डले अपनाएको प्रविधि नेपालमा ल्याउन जरुरी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।