झापा, १३ मंसिर । झापाको हल्दिबारी गाउँपालिकाका १८ जना कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम दिइएको छ ।
विश्वास परियोजना अन्तरगत करुणा फाउण्डेशनले बुधबार र बिहीबार गरी दुई दिने दिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठकले जानकारी दिनुभयो । कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिम दिने गरिएको उहाँले बताउनुभयो ।
कुष्ठरोगी र हात्तीपाइले रोगको कुप्रभावलाई कम गर्न र रोगलाई थप बढ्न नदिन तालिम दिने गरिएको बताउँदै उहाँले भन्नुभयो, “तालिमले अंगभंग हुनबाट जोगाउन मद्दत मिल्छ ।”
करुणा फाउण्डेशनले कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिमसँगै उनीहरुको मागको आधारमा जुत्ता, वाकर, वैशाखी, चश्मा लगायतका सहायक सामग्री समेत प्रदान गरिने गरेको छ भने उपचारका लागि परामर्शसँगै यातायात खर्च समेत दिने गरेको छ ।
हल्दिबारी गाउँपालिकाको कार्यालय हाताभित्र दिइएको तालिमको सहजीकरण कार्यक्रम अधिकृत पाठक, सहारा नेपालकी सामाजिक परिचालक मोनिका खड्का लगायतले गर्नुभएको थियो । सामाजिक अवहेलना हुने डरले कुष्ठरोगी र हात्तीपाइले रोगी खुलेर नआउँदा रोग पहिचान र निदानमा समस्या हुने गरेको छ ।