
काठमाण्डौ, २८ पुस । त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।
वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो पारीमा मधेशका मयन यादवले ४९ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । पहिलो पारीमा आर्मीले २ सय २५ रन र मधेशले १ सय २ रन बनाएको थियो ।
यस्तै जनकपुरमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशले दिएको १ सय १६ रनको लक्ष्य पछ्याइरहेको छ । दोस्रो दिनको चिया समयअघिसम्म पुलिसले ३ विकेट गुमाएर ८७ रन बनाएको छ । दोस्रो पारीमा बाग्मतीका शुभ कंसाकरले ७०, रित गौतमले ५२ रन बनाए । पुलिसका ललित राजवंशीले ३ विकेट लिए । पहिलो पारीमा बाग्मतीले १ सय १२ रन र पुलिसले २ सय १५ रन बनाएको थियो ।
जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल पर्सि हुनेछ । वीरगञ्जमा हुने फाइनल खेल तीन दिन हुनेछ ।


