
कनकाई, ५ माघ । झापाको कनकाईमा आजदेखि प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण शुरु हुँदैछ ।
खेलको माध्यमबाट खेलाडी उत्पादन र उनीहरुको दक्षता बृद्धि गर्ने उद्देश्यले सुरुङ्गा जेसीजको आयोजनामा आजदेखि शुरु हुने प्रतियोगिता माघ ८ गतेसम्म कनकाई माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भारत सिक्किमको एक, कोशीका १२ र आयोजक गरी १४ वटा टिमको सहभागिता रहने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इञ्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने र उक्त खर्च प्रायोजक, सामाजिक संघ–संस्था, खेलप्रेमी, समाजसेवीको सहयोगबाट जुटाइने आयोजकले जनाएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


