
बनियानी, २६ माघ । झापाको चार स्थानमा सशस्त्र प्रहरीको चार वटा भवन निर्माण भएको छ ।
सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा, बोडर आउट पोस्ट ज्यामिरगढी र बोडर आउट पोस्ट महेशपुरको भवन निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । चार वटा भवनको कूल लागत रू चार करोड ६५ लाख ५६ हजार छ सय ७४ रहेको छ ।
मेचीनगर–७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी रू एक करोड ३९ लाख ९ हजार चार सय २६ को लागतमा नयाँ भवन निर्माण गरिएको छ । यस अघि काँकडभिट्टामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित हिन्दु धर्म सनातन सेवा समितिको स्वामित्वमा रहेको विश्वनाथ शिवालय मन्दिरको धर्मशालाको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।
यसैगरी, भद्रपुर नगरपालिका–५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरीद गरी रू एक करोड ३१ लाख ३७ हजार तीन सय ३३ को लागतमा प्रस्तावित सुरक्षा गुल्म भद्रपुरको भवन निर्माण गरिएको छ ।
मेचीनगर–१५ स्थित लिम्बूडाँडामा एक बिगाह ऐलानी जग्गामा रू एक करोड १३ लाख ८१ हजार ४०३ रुपैयाँमा यहाँ नयाँ भवन निर्माण गरिएको छ । स्थानीयबासीले माग गरेपछि २०७७ मा स्थापना भएको बोर्डर आउट पोस्ट ज्यामिरगढी मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित बंशल चिया बगानको स्वामित्वमा रहेको जग्गा र भवनमा कार्यालय स्थापना गरिएको थियो ।
भद्रपुर नगरपालिका–३ मेचीपारीस्थित स्थानीय मायाराम महतो र कमलेश्वर महतोले ५ कट्ठा जमिन निःशुल्क उपलब्ध गराएपछि २०७७ फागुन ९ गतेदेखि बोर्डर आउट पोस्ट महेशपुर सञ्चालन हुँदै आइरहेकोमा सोही स्थानमा रू ८१ लाख २८ हजार पाँच सय १२ को लागतमा नयाँ भवन निर्माण गरिएको सशस्त्र प्रहरी प्रमुख राईले जानकारी दिनुभयो ।



