
इलाम, २१ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ ।
बुधबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामलाई २–० गोलले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मीले फाइनलको यात्रा तय गरेको छ ।
आर्मीको जीतमा बिमला चौधरीले २ गोल गरिन । नेपाली राष्ट्रिय टिमका समेत खेलाडी रहेका आर्मी र विभिन्न क्षेत्र कलेक्सन खेलाडी रहेको आयोजक ओएसीस बीचको खेलमा पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो भने दोस्रो हाफमा आयोजकलाई आर्मीले दबाबमा राख्यो ।
आजको ‘प्लेयर अफ द म्याच’ आर्मीको खेलाडी बिमला चौधरी बनिन । उनले नगद ५ हजारसहित ट्रफी मेडल प्राप्त गरिन् । आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


