चन्द्र बस्नेत
कनकाई, २८ चैत । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ ।
वडाका कृषकलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आज वडाले यहाँका २३ जना कृषकलाई मोटर वितरण गरेको हो । वडा अध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा रहेको थियो ।



कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभयो ।

जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका गर्दै कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो । आफूले पाएको सुविधालाई सही सदुपयोग गर्दै अर्गानिक खेतीमा जोड दिन उहाँले आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै कृषिको माध्यमबाट आत्मनिर्भर र दिगोपना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषकलाई आग्रह गर्नुभयो ।

वडाध्यक्ष पोखरेलले यस पटक मागको करिब ४० प्रतिशत अर्थात वडाका २३ परिवारलाई मात्रै आवश्यकताका अनुसार उपलब्ध गराएको बताउनुभयो । उहाँले अझै पनि ९० जनाभन्दा धेरैको माग रहेको भन्दै अबको चरणमा सबैलाई पुर्याउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कृषिका लागि मल, बिउसँगै सिँचाइको समेत उत्तिकै भूमिका हुने भएकाले सिँचाइ मोटर वितरण गरिएको उहाँले बताउनुभयो । कृषकलाई कृषि कार्यमा आवश्यक पर्ने मल, विउविजन पनि वितरण गरेको वडा सदस्य दलबहादुर थापाले बताउनुभयो ।
कार्यक्रममा वडा सचिव सदिक्षा निरौला, कर्मचारी निर्मला बानियाँ, वडाका टोल संयोजक, कृषक समूहका प्रतिनिधि, अगुवा कृषक लगायतको उपस्थिति थियो ।
बालबालिकालाई खेलकुदका सामग्री
यता, वडाले आजै बालबालिकाको माग अनुसारको वडाको दिव्यज्योति बाल समूहलाई खेलकुद सामग्री समेत वितरण गरेको छ।

आठ वर्षदेखि माथिका ६० जना बढी बालबालिका रहेको दिव्यज्योती बाल समुहमा आबद्ध बालबालिकालाई खेलकुदका सामग्री फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट लगायतका खेल सामग्री वितरण गरिएको वडा सदस्य हरिकुमार राईले बताउनुभयो ।
सिँचाइ मोटर तथा खेल सामाग्री वितरण कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


