सन्तोष शर्मा
झापा, ४ बैशाख । झापाको कनकाई नगरपालिकाले नगरको आन्तरिक स्रोत बृद्धि गर्न लागि परेको छ ।
नगरपालिका लुकेको र छुटेको करको स्रोतहरु पहिचान गरी आन्तरिक आम्दानी बढाउने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।




नगरले फोहोरमैला संकलनका लागि कर निर्धारण गरे पनि हालसम्म उक्त शीर्षकमा कर संकलन नगरिएको उहाँले बताउनुभयो । “नगरपालिकाले कानून नै बनाएर दस्तुर तोकेको छ”, उहाँले भन्नुभयो, “अब घरघरमा कर्मचारी पठाएर कर संकलन गर्छौं ।”
हाल निश्चित क्षेत्रबाट मात्र फोहोरमैला संकलन गरिए पनि कर तिर्न इच्छुक नगरबासीको मागको आधारमा फोहोर मैला संकलनका लागि गाउँ–गाउँमा ट्याक्टर पठाइने उहाँले बताउनुभयो । “आउँदो आर्थिक वर्षदेखि ट्याक्टर किनेर जनशक्ति थप्ने योजना छ”, उहाँले भन्नुभयो ।
बैशाख दोस्रो सातादेखि तथ्यांक संकलन
नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित व्यवसायको तथ्यांक संकलन गर्ने भएको छ । बैशाख दोस्रो सातादेखि तथ्यांक संकलन शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।
सबै व्यवसायीलाई करको दायरामा ल्याइने उहाँले बताउनुभयो । “तथ्यांक अद्यावधिक पछि राजश्व संकलन टोली खटाउँछौं”, उहाँले भन्नुभयो, “नगरमा रहेको व्यवसायीको छुट्टै एप बनाउने योजना छ ।”

नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले मात्रै सबै कुरा गर्न नसक्ने बताउनुभयो । विकाससँग आर्थिक पाटो पनि सँगसँगै आउने भएकाले सबै नगरबासीले कर तिर्नुपर्ने बताउनुभयो । “हामीले आन्तरिक स्रोतलाई मजबुद बनाउन सक्यौं भनेजस्तो काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कर तिर्नु भनेको विकासमा साझेदार बन्नु हो ।” केन्द्रबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गएकाले आन्तरिक स्रोतलाई बलियो बनाउन जरुरी रहेको नगरप्रमुख पोखरेलको भनाइ छ ।
चार सय ७५ व्यवसायले गरे दर्ता–नवीकरण
राजश्व संकलनको दायरा बढाउने उद्देश्यले कनकाई नगरपालिकाले हालै सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय ७५ वटा व्यवसाय दर्ता–नवीकरण भएका छन् । नगरले गत चैत ७ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको राजश्व संकलन घुम्ती शिविरमा नयाँ तथा पुराना चार सय ७५ वटा व्यवसाय दर्ता र नवीकरण भएको नगरपालिकाकी अधिकृत छैठौं कमला विश्वकर्माले जानकारी दिनुभयो ।
कनकाई–३ स्थित सुरुङ्गा बजार क्षेत्रमा सञ्चालित शिविरमा तीन सय ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने १४ वटा व्यवसाय बन्द भएका छन् । त्यस्तै, कनकाई–७ स्थित दुर्गापुर बजारमा ६४ वटा दर्ता–नवीकरण र चार वटा बन्द, कनकाई–८ स्थित लक्ष्मीपुर बजारमा ३६ वटा दर्ता–नवीकरण र एक वटा बन्द र कनकाई–९ स्थित घैलाडुब्बा बजारमा २८ वटा दर्ता–नवीकरण र तीन वटा बन्द भएका छन् ।
राजश्व संकलन घुम्ती शिविरबाट रू १० लाख २३ हजार सात सय ८९ राजश्व संकलन भएको छ । शिविरमा व्यवसाय करवापत रू आठ लाख ३३ हजार ८०, सम्पत्ति करवापत रू छ हजार ५०, घरबहाल कर वापत रू ९५ हजार पाँच सय ७९ र व्यवसाय रजिष्ट्रेशनवापत रू ८९ हजार ८० राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


