झापा, २७ जेठ । एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दैछ ।
लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन् ।



छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ। नेपाल रहेको समूहमा लाओससँगै मलेसिया र भियतनाम छन् । सुरुवाती पहिलो खेलमा जित निकालेका भियतनाम र मलेसिया समान ३ अंकमा शीर्ष र दोस्रो स्थानमा छन्। जितविहिन नेपाल तेस्रो र लाओस पुछारमा छ ।
छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो । होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ । भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ । मलेसियासँग नोभेम्बर १८ मा तथा आगामी मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


