
सन्तोष शर्मा
झापा, ७ चैत । अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइ–नभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य ।
दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए । सरकारले समेत बेलैमा चैते धानको मूल्य तोक्दा किसानमा उत्साह थपिएको थियो । बजार भाउ पनि राम्रै मिलेको थियो ।
तर, पछिल्लो पटकको चैते धान र बर्खे धानले अघिल्लो वर्षको जस्तो मूल्य पाएन । गत वर्ष किसानले चैते धानको मूल्य मुस्किलले ६ सयदेखि ७ सय रुपैयाँसम्म प्रतिमन (४० किलो) पाएका थिए भने बर्खे धान १२ सयदेखि १३ सयसम्म पाए ।
गत वर्षको तुलनमा यो वर्ष करिब १५ देखि २० प्रतिशत चैते धानको क्षेत्रफल घट्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउनुहुन्छ । “गत वर्ष किसानले चैते धानको मूल्य नै पाएनन्”, उहाँले भन्नुभयो, “६ सयदेखि ७ सय रुपैयाँ किसानले धान बेच्नु पर्यो, यो मूल्यमा किसानलाई लागत उठाउन पनि मुस्किल पर्छ ।” मूल्य नपाएकै कारण यो वर्ष झापा जिल्लामा चैते धान खेतीको क्षेत्रफल घटेको उहाँ बताउनुहुन्छ ।
गत वर्ष (आव २०८१–०८२) सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको सर्मथन मूल्य न्यूनतम् प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा निर्धारण गरिएको थियो । तर, किसानले मुस्किलले १ हजार ५ सयदेखि १ हजार ७५० सम्म पाए ।
सरकारले आव २०८०÷०८१ को तुलनमा आव २०८१÷०८२ मा चैते धानको मूल्य प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँ बढायो । तर, किसानले पुरानै मूल्य पनि पाएनन् ।
चालू आर्थिक वर्षका लागि समेत सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य बढायो । मन्त्रिपरिषदको बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तोक्यो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोक्यो ।
अघिल्लो वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय १० रुपैयाँ थियो भने वर्ष मध्यम धानको न्यूनतम मूल्य ३ हजार ५ सय ८० रुपैयाँ तोकिएको थियो । तर, किसानले बढेको त परै जाओस् पुरानै दाम पनि पाएनन् ।
बर्सेनि सरकार दाम बढाउँदै जाने र किसानले मूल्य नपाउने श्रृङ्खला चलिरहेको छ । सरकार मूल्य बढाउने तर कार्यान्वयनमा कुनै चासो नदेखाउने प्रवृत्तिले किसानले मूल्य नपाएको देखिन्छ । किसानको पक्षमा काम गरेको देखाउन र सस्तो लोकप्रियताका लागि मात्र सरकार कृषि उपजका लागि मूल्य बढाउने गरेको किसानको गुनासो छ ।
मिल उद्योगी र व्यवसायीले नै किसानलाई आफूखुसी धानको मूल्य दिने गरेका छन् । मिल उद्योगीको गुनासो बेग्लै छ । उनीहरुले उद्योग नै संकटमा परेको गुनासो गर्छन्/ गरिरहेका छन् ।
बजारमा चामलको मूल्य घटेको छैन । बरु धानको भूसको मूल्य धान भन्दा बढी छ । तर पनि व्यवसायीहरु घाटा लाग्यो, व्यवसाय गर्न सकिँदैन भन्दै गुनासो पोखिरहेका छन् ।
भारत लगायतका तेस्रो मुलुकबाट वैध र अवैध बाटोबाट धान चामल आयात भइरहेको छ । आन्तरिक उत्पादनले मात्र नपुगेपछि बर्सेनि ३० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने अवस्था रहेको सरकारी तथ्यांक नै छ । तर पनि किसानले धानको उचित मूल्य पाएका छैनन् । सँगै, घाटा भयो भन्ने चित्कार उद्योगीहरुको छ ।
मूल्यसँगै बढेको थियो खेतीको क्षेत्रफल
आव २०८०/०८१ मा चैते धानको मूल्य किसानले राम्रो पाएका थिए । उक्त आवमा १९ हजार ८५० हेक्टरमा १ लाख ४ हजार १४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।
मूल्य राम्रो पाएपछि आव २०८१/०८२ मा चैते धान खेतीको क्षेत्रफल १ सय हेक्टर बढ्यो । १९ हजार ९५० हेक्टरमा चैते धान खेती गरिएको थियो भने १ लाख ६ हजार १३४ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले जानकारी दिनुभयो । तर, यो वर्ष झण्डै ३ हजारदेखि ४ हजार हेक्टरसम्म चैते धान खेती घट्ने उहाँ बताउनुहुन्छ ।
किसानको गुनोसो जहाँकोत्यही
केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या थियो । तर, पछिल्ला केही वर्षदेखि सरकारले चाँडै मूल्य तोक्न थालेको छ । तर, पनि किसानले मूल्य पाएका छैनन् ।
किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु हरेक वर्ष दोहोरिने समस्या हो । अन्नबाली, तरकारी, दूध लगायतका कृषि उपजले उचित मूल्य नपाएकाले बर्सेनि कृषि पेशाप्रति किसान निराश हुँदै आएका छन् ।
कहिले मिल्क होलिडे त, कहिले सडकमै आफ्नो उत्पादन फालेर किसानले विरोध जनाउँदै आएका छन् । जसकारण कृषि प्रधान मुलुक नै कृषिमा परनिर्भर भइरहेको छ ।
प्रविधि सिकाउँदै ज्ञान केन्द्र
कृषकको लागत खर्च घटाउन र उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यस वर्षसमेत विगतमा झैं यस वर्षसमेत शिवसताक्षी र गौरादहको २४ बिघामा नमूना धान खेती गरिएको ज्ञान केन्द्र प्रमुख विष्टले बताउनुभयो । धान रोप्ने मेसिनको प्रयोग गरेर यी दुई स्थानमा नमूना खेती गरिएको उहाँले बताउनुभयो ।
“किसानलाई कृषि प्रविधि सिकाउने र त्यसमा अभ्यस्त बनाउने काम गरिरहेका छौं”, उहाँले भन्नुभयो, “जसले किसानको लागत घटाउनुका साथै कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत मिल्छ ।”


