
सन्तोष शर्मा
बिर्तामोड, ८ चैत । झापामा सवारी दुर्घटनामा परी आठ महिनामा ५० जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि फागुन मसान्तसम्ममा सवारी दुर्घटनामा परी ३९ जना पुरुष, १० जना महिला र एक जना बालक गरी ५० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।
उक्त अवधिमा भएको ८ सय ८२ वटा दुर्घटनामा ८२ जना गम्भीर घाइते समेत भएका छन् भने १ हजार ४ सय ६६ जना सामान्य घाइते भएका छन् । त्यस्तै, दुर्घटनामा परी २ वटा चौपायाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा माघ महिनामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको छ । त्यस्तै, साउनमा ३ जना, भदौमा ४ जना, असोजमा ६ जना, कात्तिकमा ५ जना, मङ्सिरमा २ जना, पुसमा ९ जना र फागुनमा ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
यता, सोही अवधिमा कार्यालयले सवारी नियम उल्लंघन गर्ने १४ हजार ६ सय ९५ वटा सवारी साधनलाई कारबाही गरेको छ । ती सवारी साधनलाई कारबाही गरेबापत १ करोड ४१ लाख ६४ हजार ३६ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रमुख राईले जानकारी दिनुभयो ।


