
धनकुटा, ३ असोज । धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुरुषतर्फ प्रदेशस्तरीय बी लेभल, जिल्लास्तरीय बी लेभल र खुला भेट्रान्स राष्ट्रिय लेभल गरी तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको आयोजक शटल धनकुटा स्पोर्ट्स क्लबले जनाएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । तीनवटै विधामा गरी ११० खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
धनकुटाका विभिन्न स्थानीय तह, वडा तथा व्यक्तिको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिता धनकुटाको बहुउद्देश्यीय सामुदायिक हलमा सञ्चालन भइरहेको छ ।
प्रदेशस्तरीय बी लेभल र खुला भेट्रान्स राष्ट्रिय लेभलका विजेताले ट्रफी र पदकसहित प्रथम हुनेले ४० हजार, दोस्रोले २६ हजार र तेस्रो हुनेले आठ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, जिल्लास्तरीय बी लेभलका विजेताले ट्रफी र पदकसहित प्रथम हुनेले ३० हजार, दोस्रोले १८ हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले साना–साना प्रतियोगिताबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने बताउनुभयो । मन्त्री पराजुलीले गाउँ–गाउँमा हुने यस्ता प्रतियोगितालाई सहयोग गर्न सङ्घीय सरकार र स्थानीय तहलाई आग्रह गर्दै प्रदेश सरकारले समेत सहयोग गर्ने तयारी गरिरहेको बताउनुभयो ।


