नकुल काजी
राजनीतिलाई ‘फोहरी खेल’ भनेर परिभाषित गर्ने चलन पनि पघितै छ ! यद्यपि ‘राजनीति’–को सक्कली परिभाषा यो होइन । यस देशको इतिहासलाई अपूर्व द्रवित–थकित र दग्ध–विदग्ध बनाएको यो बेला सत्ता बाहिरका केही राजनीतिक दलहरूले खेलिरहेको ‘विरोधको बाँकट्टे’ जस्ता निर्मम र निर्विवेकी खेल–तमासा देख्ता ‘राजनीति’–लाई साँच्चै ‘फोहर’ भनिने गरिनु पनि उत्ति गलत छैन कि भन्ने खिन्नतासाथ अनुभूत हुन्छ । अन्यथा, ‘राजनीति’–को परिभाषा त ‘नीतिहरूको राजा’ भन्ने श्रद्धाका साथ स्थापित भएको वैदिक–पौराणिक कथाहरूदेखि नै अटुट उल्लेख पाइन्छ र आजपर्यन्त यही परिभाषा विश्वमान्य रूपमा प्रतिष्ठापित छ पनि !
अथवा, उपर्युक्त ‘सत्य’–को तेजोबध गर्दै ‘राजनीति’–लाई ‘घृणास्पद स्वार्थको खेल’ मात्रमा सीमित गर्ने किसिमबाट हाल यस देशका केही दलमार्गीहरू कम्मर कसेर अभ्यासमै लागेका देखिने गर्दैछन्–देखिइरहेका छन् । तिनका घिनौला खेल–तमासा हेरेर नेपाली लोक–दुनियाँले ‘राजनीति भनेको गति छाडेर स्वार्थसिद्ध गर्नु रहेछ’ भन्ने बुझ्नै पर्ने भएकाले हुन सक्छ, आज–भोलि मैदानी नागरिकले समेत सिङ्गै ‘राजनीति’–लाई ‘फोहर खेल’–मा खुलेआम दर्ज गर्न थालेका छन् ।

यस कालखण्डको नेपाली इतिहासकै घातक प्रकोप भोटेकोशीको जलप्रलयले देश घायल भई छटपटाइरहेको अवस्था छ अहिले । यस्तो अवस्थामा पनि अनेक किसिमका अल्मल र खल्बल सिर्जना गरेर राज्यलाई उसको काममा बाधा हाल्न खोजिएका बखेडा र गुल्चे–गेजुका राजनीतिक नाचगानहरू भइरहेका छन् ! तिनलाई मात्र हेरेर भन्नुपर्दा ‘राजनीति साँच्चै दुत्कार्य फोहर खेल’ नै हो कि भन्ने सचेत वर्गलाई पनि अनुभूत हुन थाल्नु अनौठो नठहर्ला !…
कलिला बाल–बालिका लगायत ‘देशका कर्णधार’ मानिने युवाहरू समेत ७६ जनाको बलिदानको जगमा उभिएको हाल बहाल सरकार विरुद्ध प्रतिपक्षका केही दल–विशेष, शुरुवाती चरणदेखि नै नाङ्गो रूपमा, षडयन्त्र र झमेलाहरूको चक्रव्यूह सिर्जना गर्न सक्रिय हुँदै आएका सबैका आँखा अघिल्तिरै छँदैछ । खासगरी उल्लिखित ७६ नेपाली सन्तति हत्याको जिम्मेवार तात्कालिक सरकारी दल र अन्य केही सत्तालिप्से दल सक्रिय भूमिकामा उतारु छन् । त्यसो त, तिनैले ‘राजनीति’–को घुम्टो ओढेर देशका विभिन्न घटना सान्दर्भिक यथार्थलाई सरेआम गिजोल्दै र राज्यलाई अल्मल्याउने गर्दै आएका दुष्कर्मको श्रृङ्खला निकै लामा र दुःखदायी छँदैछन् – अहिलेको जस्तो विकराल प्राकृतिक प्रलयकालमा झन् लंगट्याइँको हदसम्म झाङ्गिइरहेको पनि देखिँदो छ !
लगभग ‘दुई–तिहाइ बहुमत’–को बलियो वर्तमान सरकारले विगतदेखि नै भताभुङ्ग हुँदै आएको ‘विधिको शासनको अवधारणा’–मा समयसापेक्ष र जनगणका अपेक्षा अनुकूल सुधारका प्रयत्न थालेको पनि लोक–दुनियाँले देखिरहेका छन् । र, आशान्वित पनि छन् । तर, विगत ३५ वर्षदेखि देशका तीन मुख्य अंगमध्ये दुई अंग (कार्यपालिका र न्यायपालिका)अन्तर्गत विगतमा सरकार चलाइआएका विभिन्न दलका ‘सेटिङ’–मा ओहदा वा पद लाभ गरेकाहरू नै भरिभराउ छन् । तिनै संयन्त्रलाई ‘स्थायी सरकार’ मानिने गरिन्छ । वर्तमान सरकारले पनि तिनैमा भर पर्नुपर्ने बाध्यता नै परम्परा माने झैं किन व्यहोर्नु परिरहेको हो ?– यो कुरो बोधगम्य छैन !
यसकारण पनि हालका अशोभनीय र सुधीशून्य विरोधका प्रकरणहरूमा उनीहरू समेत दुरुपयोग भइरहेका छन् । र, तिनै केही दलका अक्कडा लोफर नेता–मुखिया र तिनका अन्धभक्त भाटहरू मौजूदा सरकारलाई अनेक बाधा–व्यवधानले घेराउन बढ्ता प्रणोदित देखिएका छन्, भनिन्छ । बाढी–बितण्डाले देशलाई अतिशय दग्ध र घाइते बनाएको अवस्थामा मौजूदा राज्य चौतर्फी साधन–सहयोग जुटाएर भरमग्दुर सम्भारमा अहोरात्र अनुरक्त छ । यस्तो अवस्थामा जनभावना भ्रमित तुल्याउने र राज्य–प्राधिकरणलाई दुरुत्साहित गर्ने घृणित बखेडाबाजीले उल्टै हैरान गर्नसम्म पनि ती केही लोफर प्रतिपक्षीहरू पछि परेका छैनन् भन्ने त जगजाहेरै छ ! इतिहासको श्रपित पन्नामा यी यावत् कथा यिनका पृष्ठभूमिका साथ, आजका रोदित दिनहरूका, आँशुले अवश्यै लेख्ने छ ।
अतः यस्तो समयमा खाना पकाउने ग्यासको देशव्यापी कृत्रिम अभाव सिर्जना गराई नागरिकका चूल्हा–चौकासम्मै आफैले असहजता सिर्जना गराएर राज्यलाई असक्षम देखाउने हदैको कुरी–कुरी लाग्ने कुटिल हर्कत गर्नेसम्मको अपराधमा पनि उनीहरू प्रस्तुत भएका रहेछन् ! उदाहरणका लागि राजधानी महानगरको हरिसिद्धिमा ग्यास उद्योगी रहेका नेकपा (एमाले)–को केन्द्रीय सदस्य रामनाथ पौडेल र सोही दलकी अगुवा भनिने महिला यशोदा अर्यालको पन्ध्रौं हजार सिलिण्डर (ग्यास भरिभराउ) लुकाएर कालोबजारी गरिरहेका फेला पारिएका छन् र ती दुबैमाथि जनही तीन लाख रुपैयाँ जरिमाना समेत गरिएको छ ।
सो घटनाबाट ग्यास–अभावको वास्तविक रहस्य खुलेपछि बुटवल, जनकपुर, भैरहवा, बीरगञ्ज आदि ठाउँ–ठाउँका उपभोक्ता जागरण सम्बन्धी संस्थाको सक्रियतामा ग्यास उद्योगी र बिक्रेताहरू त्यही अभियोगमा धमाधम पक्राउ भई कारवाहीमा परिरहेका छन् भन्ने स्थलगत समाचार छ्याप्छ्याप्ती आइरहेका छन् । तिनीहरूमा पनि एमाले पृष्ठभूमिकाकै बाहुल्य रहेको समाचारमा बताइँदैछ । अझ आश्चर्य त के देखिन्छ भने – काठमाडौंको घटनाको तुरुन्त अघि मात्र उपर्युक्त पौडेल र अर्यालले नेतृत्व गरेको एउटा घना जुलुसमा आफ्ना अन्ध समर्थकहरूलाई खाली सिलिण्डर बोकाएर ‘बालेन सरकार, ग्यास दे !’ मूल नारा लाउने अगुवा पनि तिनै दुई एमालेपन्थी नेता–नेती नै पो थिए त !
अर्काे ‘आफै धामी–आफै बोक्सी’ उखान चरितार्थ गर्दै, चार पटक देशको प्रधानमन्त्री भइसकेका उही एमाले अध्यक्ष केपी ओली अहिले ग्यासको कालाबजारे कार्यकर्ताका यस्ता अक्षम्य दोष ढाकछोप गर्दै– ‘सरकार छापामार शैलीमा चल्न थाल्यो ! जनताले दुःख पाइरहेका छन् ! कालोबजार फस्टाउँदैछ ! ग्यासकै जस्तो हरेक उपभोग्य वस्तुको अभाव र महंगी चुलिँदैछ ! सरकार चाहिँ एमालेलाई बदनाम गरिरहेको छ !… हाम्रो पार्टीका मान्छेलाई दुःख दिएर हैरान गर्नेभन्दा यो बेकामे सरकारको अरू केही काम देखिँदै छैन !…’ उनी लगायत सो पार्टीका अन्य उपल्ला पदासीनहरू पनि यस्तै उल्टो बकबासमा नित्य उत्रिरहेका छन् भन्ने त अटुट प्रचार–प्रसारमा छँदैछ ! अनि तिनका त्यस्ता दुर्र्मितपूर्ण गतिविधिले नै ‘राजनीति’–को परिभाषालाई अपवित्र र अपमानित गर्दै लगिएको छ ।
यद्यपि, राज्यको डाडु–पन्युँ सम्हालिरहेको दल र सरकारको सर्वभावेन समर्थन वा पक्षपोषण गर्ने यो टिप्पणीको अभिप्रायः किमार्थ होइन । मौजूदा सत्तादल र त्यसको एकमना सरकारले पनि ‘राजनीति’–को सैद्धान्तिक आदर्शलाई निर्दाग राख्नसक्न छोडेको देखिँदो छ । पुराना दलबाट वितृष्ण भएका मात्र नभएर रणनीतिक हैसियत समेत लिएर यस दलमा घुस्रेका तथा स्वार्थ–समूहका घुसपैठियाहरूका कतिपय क्रियाकलापमाथिको नठीक चलखेलको निगरानीमा यो दल र उसले बनाएको सरकार पनि चुक्तै गइरहेको छ । सामाजिक सञ्जालले बोल्ने गरे जति काम उसका अभ्यास क्षेत्रमा नभइरहेका गुनासाहरू बढ्दो अवस्थामा छन् । अब त झन् उही सत्तादलका अमरेशकुमार सिंह, आशिका तामाङ, खगेन्द्र सुनार प्रभृति सांसदहरू प्रतिपक्षीका बाटामा हिंड्न पनि थालिसकेका छन् ।
पूर्वशासक दलहरू र तिनको सरकारका बाँझा भाषण र छलछामबाट विरक्तिएका मतदाता नागरिकहरू मौजूदा सरकारले आफ्ना सरोकारका विषयमा मनग्गे हात बढाउने किसिमका परिवर्तन चाहेका हुन् । तर, सत्तारुढ भएको ६ महिना नबित्तै पुराना–पाका दलमार्गीकै नाक–नक्सा राज्य–सत्तासीनहरूमा पनि देख्न थालेका छन् । पुरानाहरूकै जस्तो दल र सरकारमा गुट–गिरोह यो दलमा पन्पाएको देख्न थालेका छन् । यी सबै टिकाटिप्पणी हुनु नै पर्ने छ, जो केही समयको पर्खाइमा छ ।…
अर्थात्, ‘राजनीति’–को सक्कली परिभाषाको विलोम तमासा वस्तुतः आजको जलप्रलयले विदीर्ण देशमा किन चल्दैछ – नै मुख्य चासोमा छ । यसका कथा र कथा–प्रकरीहरू वर्णनासाध्य छन् ! त्यसैले, आजलाई यति नै ! शेष फेरि—



