
काठमाडौँ, १४ माध । यूएईले जितका लागि २५५ रनको लक्ष्य पाएको नेपालले ब्याटिंग शुरु गरेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी ब्याटिंग शुरु गरेका छन् ।
यसअघि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटमा २५४ रन बनायो । उसका लागि शाइमन अनवरले ८६ रन बनाए । यस्तै सीपी रिजवानले ४५ बनाए । यस्तै अन्तिममा ब्याटिंग गरेका मोहम्मद बुताले नेपाली बलिंग ध्वस्त बनाउँदै विस्फोटक अर्धसतक बनाएपछि उसले चुनौतीपूर्ण स्कोर बनायो ।
यूएईको दुबईस्थित आईसीसी एकेडमी मैदानमा जारी खेलमा यूएईका शुरुआती ब्याट्सम्यान नेपाली बलरका अगाडि खुलेर खेल्न सकेका थिएनन् । सोमपाल कामी र करण केसीले रन गतिमा अंकुश लगाउँदै विकेट लिएपछि दबाबमा परेको यूएईलाई साइमन अनवर र सीपी रिजवाले उकासेका थिए । यो जोडीबीच १०० रनको साझेदारी भएको थियो । यही साझेदारी कारण यूएइले नेपाल सामु चुनौती पूर्ण लक्ष्य राखेको हो ।
जवाफी ब्याटिंग गर्न नेपाल अब मैदानमा आउँदैछ ।
यसअघि नेपालका लागि करण केसीले दुई विकेट, सोमपाल कामीले ।१ विकेट, सन्दीप लामिछानेले १ विकेट र कप्तान पारस खड्काले २ विकेट लिएका थिए ।
राष्ट्रिय टीममा परेका भीम शार्की र अभिनाष बोहोराले भने डेब्यूको मौका पाएनन् । सन्दीप नेपालको लागि ओडीआई खेल्ने १९ औं खेलाडी भएका छन् । यो चुनौतीपूर्ण स्कोर पार गर्न नेपालको ब्याटिंग राम्रो हुनुपर्ने देखिएको छ ।
तेस्रो ओडीआईका लागि नेपाली टोली ः
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

