
काठमाडौँ, ४ फागुन । गत पुसमा थाइल्याण्डमा आयोजित १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कूल नयाँ बानेश्वरले नगदसहित ‘काव्य खेल सम्मान–२०७५’ प्रदान गरेको छ ।
महर्जनले नेपालले शारीरिक सुगठन प्रतियोगिताको इतिहासमा पहिलोपटक ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो । जाउलाखेलस्थित खेल मैदानमा आयोजित नवौँ काव्य खेल सप्ताह समापनका अवसरमा काव्य स्कूलले स्वर्णपदक विजेता महर्जनलाई रु पाँच हजारसहित ‘काव्य खेल सम्मान’बाट सम्मान गरेको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटा, निर्देशक रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरेका थिए । काव्य स्कूलले दुई वर्षअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पनि ‘काव्य खेल सम्मान’ प्रदान गरेको थियो । नवौँ काव्य खेल सप्ताहमा तेक्वान्दो, उसु, फुटसल, फुटबल, भलिबल, विभिन्न दूरीको रिले दौडलगायत दुई दर्जन थरी खेलकूद समावेश गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

