
काठमाडौँ, १८ फागुन । चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् ।
कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए ।
आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौँ, सविन तामाङ छैटौँ र भीम गुरुङले सातौँ भए । उपाधिसँगै कृष्णले रु एक लाख २५ हजारसहित मोटरसाइकल प्राप्त गरे । दोस्रो भएका राजनले रु ६५ हजार र तेस्रो भएका नवराजले रु ३५ हजार प्राप्त गरे ।
हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै कल्याण बानियाँ पहिलो भए । उनले निर्धारित दूरी एक घण्टा छ मिनेट ३१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका गजेन्द्र राईले एक घण्टा छ मिनेट ३८ सेकेण्ड र तेस्रो भएका टीकाराज कटवालले एक घण्टा सात मिनेट २३ सेकेण्डमा दूरी पार गरे ।
महिलतर्फ आर्मीकी विश्वरुपमा बुढा पहिलो भइन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट २० सेकेण्डमा पार गरिन् । दोस्रो भएकी सशस्त्र प्रहरी बल ९एपिएफ०की बिन्दा देसारले निर्धारित दूरी एक घण्टा २६ मिनेट १२ सेकेण्डमा पार गर्दै दोस्रो र तेस्रो भएकी आर्मीकी चन्द्रा रावतले एक घण्टा २१ मिनेट ३२ सेकेण्डमा पार गरिन् ।
दुवै स्पर्धाका विजेताले रु ५० हजार, दोस्रो हुनेले रु ३५ हजार र तेस्रो हुनेले रु २५ हजार प्राप्त गरेका थिए । पैतालीस वर्षमाथिको खेलमा धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवाले तेस्रो स्थान हात पारे । विजेताले रु ४० हजार, दोस्रोले रु २५ हजार र तेस्रोले रु १५ हजार हात पारे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

