
काठमाडौँ, ४ चैत । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ ।
आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

