
काठमाडौं, २३ चैत । ओलम्पिक महिला छनोट फुटबलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।
शनिबार भएको खेलमा भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।
एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।
ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो ।
तर, घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नेपालले भारतलाई रोक्न सकेन । ओलम्पिक छनोटमा पनि भारतले नेपालमाथि आफ्नो प्रभाव कायमै राख्यो ।
म्यानमारमा भएको खेलमा भारतले उपहार गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरिन् । तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।
दोस्रो हाफमा भारत हावी भयो । ६० औं मिनेटमा भारतले २–१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३–१ को जित निकाल्यो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

