
झापा, १६ असार ः झापामा राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । १५ औं राष्ट्रिय धान दिवसलाई विभिन्न तरिकाले मनाएको पाइएको छ ।
कतै आधुनिक मेसिनबाट धान रोपेर त कतै, गलामा धानको विउको माला लगाई दिवस मनाइएको देखियो । धान दिवसमा दहि चिउरा खाने प्रचलन छ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइदै आएको छ ।
प्रधानमन्त्री आधुनिक कृषि परियोजना धान सुपर जोन बनियानी झापाले ‘धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि’ नाराका साथ १५ औं राष्ट्रिय धान दिवस कचनकवलमा मनाएको छ । कृषिमा यान्त्रिकरण मार्फत् उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपरजोनले प्रदेशसभा संसद बसन्त बानियाँलाई मेसिनबाट धान रोप्न लगाएर दिवसको उद्घाटन गराएको हो ।
कार्यक्रममा सहभागी वक्ताले कृषिमा यान्त्रीकरण प्रयोग पश्चात लागत घटेर उत्पादकत्व बृद्धि भए पनि बजारीकरणको समस्या हल गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । हरित कृषक समूहको संयोजनमा सम्पन्न कार्यक्रममा सुपरजोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले औचित्यमाथि प्रकाश पार्दै सुपरजोन स्थापना पछि धान उत्पादन बढे पनि उचित मूल्यसहितको बजारीकरण हुन नसक्दा कृषक मारमा परेको जानकारी दिए ।
तिम्सिनाले राज्यको नेतृत्वमा रहने नीति निर्माताहरूले बोलीमा होइन व्यवहारमा कृषि विकासका लागि काम गर्नुपर्ने धारण राखेका छन् । यसैगरी, अग्र्यानिक जोनको अवधारणा लिएर अगाडि बढिरहेको भद्रपुर–८ नम्बर वडाले असार १५ को अवसर पारेर २ जना कृषकलाई सम्मान गरेको छ । वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा वडा कार्यालयमा कृषक श्रीस राजवंशी र खस्ता राजवंशीलाई नगद एक हजार रुपैयाँसहित नेपाली टोपी लगाएर सम्मान गरिएको थियो ।
प्रमुख अतिथि सिटौलाले विषादी रहित कृषि उत्पादन गर्न सके अकालमा मर्नु नपर्ने धारणा राखेका थिए । उनले आदिवासी जनजाति समुदायका कृषकहरु विषादी न्यूनीकरणमा लागि रहेकोमा प्रशंसासमेत गरे ।
सुपरजोनका अध्यक्ष नवराज भट्टराईको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, सहयक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, धान बाली विज्ञ कैलाशकुमार भुजेल, सिञ्चाई डिभिजन प्रमुख इश्वरीकुमार तिवारीलगायतले मन्तव्य राखे ।
जनप्रतिनिधि हिलोमा दौडिए
यही अवसरमा अर्जुनधारा नगरपालिका तथा शनिश्चरे साना किसान सहकारी संस्था लि. को संयुक्त आयोजनामा अर्जुनधारामा विविध कार्यक्रम गरी दिवस मनाइएको छ
अर्जुनधारा–११ निवासी भूमि बरालको करिब १ बिघा जमिनमा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार राना, प्रदेश सांसद बृख प्रधान, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाअध्यक्षहरु बलदेव गोम्देन, लोकनाथ गौतम, पुष्पराज प्रसाई, भैरव खड्का वोर्ड सदस्यहरु शकुन्तला बराल, हरिमाया भण्डारी, लक्ष्मी तामाङ लगायत अन्य जनप्रतिनिधि सहभागी भएर धान रोपेका थिए । नगर प्रमुख सहित अन्य जनप्रतिनिधिले धान रोपाईमा सरिक भएपछि स्थानीयबासी हर्षित मुडमा देखिन्थे ।
हिलोमा दौड्ने प्रतियोगितामा स्थानीयको तर्फबाट तिर्थ गजुरेल प्रथम, रेश कुमार थापा दृतिय, अजय लम्जेल तृतीय भएका थिए । त्यस्तै महिला तर्फको दौडमा डम्बर कुमारी गिरी प्रथम, रेजिना गजुरेल द्धितिय, गिता खतिवडा तृतीय भएका थिए । त्यस्तै कर्मचारीको दौड तर्फ महेश निरौला प्रथम, दुर्गा नेपाल, द्धितिय, गजेन्द्र खनाल तृतीय भएका थिए भने महिला जनप्रतिनिधिको दौडमा शकुन्तला बराल प्रथम, हरिमाया भण्डारी द्धितिय, सुशीला सुवेदी तृतीय भएका थिए ।
पुरुष जनप्रतिनिधि तर्फ पुष्पराज प्रसाई प्रथम, रमेश त्रिखत्री द्धितिय, बलदेव गोम्देन र भोला गौतम तृतीय भएका थिए । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा त्रिलोचन खरेल, महेश तिम्सिना लगायतलाई नगरपालिकाको कृषि क्षेत्रमा उल्लेख्य भूमिका खेलेको भन्दै नगद सहित सम्मान गरिएको थियो ।
सामाजिक सञ्जालमा दिवसका दिन एउटा तस्वीर भाइरल भयो । तस्वीरमा अतिथिको गलामा धानको विउको माला लगाइएको थियो । र,धेरैले सामाजिक सञ्जालमा उक्त तस्वीर राखेर लेखेका छन्,– खेतमा प्लटिङ, गलामा धान ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


