
काठमाडौं, ९ जेठ । एसीसी इमर्जिङ एशिया कप क्रिकेट बंगलादेशमा आयोजना हुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले एसीसी इमिर्जिङ एशिया कप आयोजना गर्न तयार रहेको बताएको छ ।
प्रतियोगिताको आयोजना गर्ने निर्णय बंगलादेशले गरे पनि प्रतियोगिता कहाँ गर्ने भन्ने निर्णय गरेको छैन्। १२–२५ नोभेम्बर सम्म चल्ने प्रतियोगितामा ८ देशको सहभागिता हुने भएको छ । प्रतियोगितामा टेस्ट खेल्ने देशका यू–२३ खेलाडीले सहभागिता जनाउने छन् भने अन्य देशको नेशनल टिमले खेल्ने छन् ।
५० ओभरको प्रतियोगितामा बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको यू –२३ को टिम खेल्ने छ । टिममा यू –२३ माथिको सिनियर ४ जना खेलाडी राख्न पाइने भए पनि प्लेइङ सेटमा ३ जना मात्रै राख्न पाइने नियम पनि रहेको छ । यसैगरी अफगानिस्तान, यूएई, ओमान र हङकङको राष्ट्रिय टिमले सहभागिता जनाउने छ ।
एकदिवसीय मान्यता पाएको नेपालले भने यस प्रतियोगितामा सहभागीता जनाउने छैन । गएको वर्ष एशिया कपको छनोटमा नेपाल चौथो स्थानमा रहेकाले यस पटक प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको हो । यस प्रतियोगितामा गएको एशिया कप छनोटका शीर्ष तीन टिमलाई स्थान दिइएको छ ।
यो प्रतियोगिता २०१७ मा बंगलादेशले आयोजना गरेको थियो भने २०१८ मा पाकिस्तान र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

