
काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई पराजित गरी पुलिस समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २५३ रन बनायो । दुई सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले २९ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन मात्र बनायो ।
प्रदेश २ का लागि हरिशङ्कर साहले सर्वाधिक २९ रन जोडे । कप्तान मेहबुब आलमले २१, रवी साहले १५ तथा सुरज पटेलले १२ रन बनाए । बलिङ्तर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै २८ रन खर्चे । ललितनारायण राजवंशीले तीन विकेट झारे ।
त्यसअघि पुलिसका लागि ब्याटिङ गर्दै अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए । सुनिल धमलाले ४३, अनिलकुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए । बलिङतर्फ प्रदेश २ का सम्शाद शेखले चार तथा राशिद खानले दुई तथा दिव्यान्सु मल्लिक, कुमार थापा र मेहबुब आलमले एक÷एक विकेट लिए । हारसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

