
बिर्तामोड, ९ माघ । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टामा आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ ।
केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभयो । आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित चार कोठे पक्की भवनमा सुविधा सम्पन्न रहेको छ ।
“विकासको पहिलो आधार भनेको स्वास्थ्य सेवा नै हो”, नगर प्रमुख आचार्यले भन्नुभयो, “नगरपालिकाले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिएको छ ।” ग्रामीण क्षेत्रका अधिकांश नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै उहाँले नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रले यो कमीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख उप्रेतीले संविधानले प्रत्याभुत गरेको मौलिक अधिकार भित्र रहेको स्वास्थ्य सेवाले यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा मद्दत मिल्ने बताउनुभयो । नगरबासीमा स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न स्थानीय सरकार लागि परेको उहाँको भनाइ छ ।
मेचीनगरमा वडा नं. ३, ५, ७, ८ र १३ मा आफ्नै भवनबाट आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छ । वडा नं. १ को निर्माण कार्य सम्पन्न भइसकेको र २ नं. वडाको निर्माण प्रक्रियामा रहेको तथा १२ नं. वडामा जग्गा व्यवस्थापन भइसकेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।
आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटनको अवसरमा महिलाको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सरको पूर्व परीक्षण एवम् निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



