
झापा, २६ जेठ । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख परशुराम खापुङले मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् ।
उनले झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने समेत बताएका छन् ।
त्यस्तै आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवम् अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्धार प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाउने र सबै जिल्लामा अस्पतालहरूमा गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्तिको व्यवस्था गरिने उनले बताए । अस्पतालबाट हाल प्रवाह भइरहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलिमेडिसिन प्रणाली सञ्चालन गरिनेछ । प्रेषण (रेफरल) थप सेवा पनि विस्तार गरिने उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



