
झापा, २० असार । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् ।
सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका हुन् ।
कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतालमा कोषको परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भ गरेसँगै कोषमा आबद्ध श्रमिकले निःशुल्क रूपमा तोकिएका अस्पतालहरूमा उपचार गराउन पाउने छन् ।
अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली सुरु गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कतिपय अस्पतालले एमओयू र अनलाइन प्रणाली एकैसाथ सुरु गर्ने गरी तयारी पनि भइरहेको छ । कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालमा बागमतीका ९ अस्पताल र प्रदेश १ का ८, मधेस प्रदेशका ५, लुम्बिनीका ३ र गण्डकीका १ अस्पताल रहेको कोषले बताएको छ । अनलाइन प्रणाली जडान भएका अस्पतालहरूमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बीएण्ड सी हस्पीटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टर रहेका छन् ।
यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सक्ने भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



