
सन्तोष शर्मा
झापा, २१ असार । झापामा परिवार नियोजन अन्तरगत स्थायी बन्ध्याकरण गराउने पुरुषको संख्या अत्यन्तै न्यून रहेको छ ।
जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको संख्या ७७ गुणा कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको संख्या ६८४ (मिनिल्याप) र पुरुषको संख्या ९ (भ्याक्सोटोमी) रहेको छ । यो संख्या स्थायी बन्ध्याकरण गराउने महिलाभन्दा पुरुष संख्या ७७ गुणा कम हो ।
बन्ध्याकरणबारे धेरै भ्रम रहेकाले पुरुषहरुले बध्याकरण गराउन चाहँदैनन्. । शरीर कमजोरी हुने, यौन शक्ति घट्ने, पुरुष सत्तात्मक सोच, लोकलाज लगायतका कारणले पुरुषहरु स्थायी बन्ध्याकरण गराउन चाहँदैनन् ।
स्थायी बन्ध्याकरण गराउनेहरुमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला छन् । “रिमोट एरियाका त्यसमा पनि तराईमूलका अधिकांश महिलाले स्थायी बन्ध्याकरण गराउँछन्”, परिवार नियोजन अधिकृत भट्टराई भन्नुहुन्छ, “यो सेवा लिने शहरी क्षेत्रका मानिस न्यून छन् ।” शहरी क्षेत्रमा महिला भन्दा पनि पुरुषहरुले ‘लुकीछिपी’ भ्याक्सोटोमी गराउने गरेको उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालय झापाले मौसमी र मोबाइल क्याम्पको माध्यमबाट स्थायी बन्ध्याकरण सेवा उपलब्ध गराउँदै आएको छ । यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प गरिएको छ । बनियानी, हल्दिबारी, बाह्रदशी, कुमरखोद, पाँचगाछी, तोपगाछी, धुलाबारी र दमकमा मोबाइल क्याम्प गरिएको कार्यालयले जनाएको छ ।
यस्तै, झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरण समेत हुने गरेको छ । यसपछि बच्चा जन्माउने नचाहनेहरुलाई सोही समयमा स्थायी बध्याकरणको सेवा समेत प्रदान गरिँदै आएको अधिकृत भट्टराई बताउनुहुन्छ ।
“बच्चाको रहर पुगेकाहरुले डेलिभरी भएपछि सेवा लिने गरेका छन्, यसरी बन्ध्याकरण गराउनेहरुको तथ्यांक न्यून मात्र आउने गरेको छ”, उहाँले भन्नुभयो, “हामीले नै तथ्यांक माग्दा पाउने अवस्था छैन, आए पनि न्यून संख्यामा सेवा लिएको तथ्यांक आउँछ ।”
झापामा आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बीएण्डसी अस्पताल, ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिँदै आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
ती अस्पताललाई डेलिभरीपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएवापत स्वास्थ्य कार्यालय झापाले तथ्यांकको आधारमा रकम पनि दिने गरिने गरिएको छ ।
सेवा प्रदायक अस्पतालहरुले यकिन तथ्यांक उपलब्ध गउँदैनन् । “२०–२२ जनाले सेवा लिएको तथ्यांक आउने गरेको छ”, उहाँले भन्नुभयो, “एक पटक मैले आफैँ गएर तथ्यांक माग्दा २५० जना भन्दा बढीले सेवा लिएको पाएँ ।”
झापामा बर्सेनि छ सयदेखि सात सयजनाले स्थायी बन्ध्याकरणको सेवा लिँदै आएको कार्यालयको औषत तथ्यांक छ । बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही रू २५० रुपैयाँ खाजा खर्च, सामान्य औषधि र भिटामिन दिने गरिएको छ । लाभग्राहीलाई घरबाट ल्याएर सेवा लिएपछि घरमै पु¥याउने व्यवस्था भने कार्यालयले आफैँले गर्ने गरेको छ ।
चालू आर्थिक वर्षमा झापामा परिवार नियोजन अन्तरगत आएको रू ३४ लाख हजार ४० मध्ये रू सात लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



