
भद्रपुर, १५ साउन । झापा भद्रपुर–१० सुकुम्बासी टोल निवासी ब्रेन ट्युमर पीडित गीता तामाङलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
गीता तामाङ बचाउ अभियानमा जुटेका भद्रपुर–६ निवासी सञ्जय भुइँमाली र उनकी श्रीमती भावना कटुवालले उनलाई रकम हस्तान्तरण गरेका हुन् । विभिन्न जटिल रोगबाट ग्रसित बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान चलाउँदै आएका उनीहरुले आज तामाङलाई संकलित रकम हस्तान्तरण गरेका छन् ।
सामाजिक सञ्जाल टिकटक, फेसबुक तथा विभिन्न सहयोगी दाताहरूबाट आर्थिक सङ्कलन गरी मिृगौला, क्यान्सर, ब्रेन ट्युमर जस्ता प्राणघातक रोगबाट लडिरहेका बालबालिकाहरूको परिवारजनलाई उपचार खर्च प्रदान गर्ने गरिएको यी अभियानीहरुको भनाइ छ ।
भुइँमाली दम्पतीद्वारा संकलित रकम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गीताकी दाजु कुमार तामाङलाई हस्तान्तरण गरेका हुन् । भद्रपुर नगरपालिका ८ सुकुम्वासी टोल निवासी ३३ वर्षीया तामाङको हाल बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । गीताको रकम अभावले उपचार गर्न समस्या भएपछि पीडित पक्षले हामी कहाँ आएको र हामीले सङ्कलन गरेको रकमबाट ५१ हजार दिएको अभियन्ता सञ्जयले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका खडग सुब्बा लगायत जनप्रतिनिधि, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



