
भद्रपुर, १० भदौ । झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालको आज अनुगमन गरिएको छ ।
अस्पतालको सुधारका विविध पक्षलाई समेटेर मेची प्रादेशिक अस्पताल सुधार समितिले राखेको ३६ बुँदे माग सम्बोधन भए÷ नभएको बारेमा समितिले आज अस्पतलामा अनुगमन गरेको सुधार समितिका अध्यक्ष दीपक तिम्सिनाले बताउनुभयो । अस्पतालमा बुझाइएको ज्ञापनपत्रमा २१ दिनभित्र समस्या समाधान गर्न माग गरिएको थियो ।
अस्पताल मातहत आउने निर्देशन क्रममा रहे पनि डायलासिस सेवा अव्यस्थित रहेको पाइएको उहाँले बताउनुभयो । “पहिला भन्दा ल्याबमा सुधार आएको छ”, उहाँले भन्नुभयो, “तर, अझै केही सुधार आवश्यक छ ।”
अस्पतलाको प्रसुती वाड धेरै फोहोर हुनुका साथै म्याट्रेस, बेडसिट, सिरानीको खोल च्यातिएको पाइएको छ । प्रसुती वाड रहेको नयाँ भवन पूरानो जस्तै बनेको छ । धेरै लापरबाही भएको पाइएको छ ।
सेवाग्राहीहरुलाई अस्पतालको सेवाबारे जिज्ञासा राख्दा धेरै गुनासो आएको छ । डाक्टर समयमा नआउनाले सेवाग्राही मारमा परेका छन् । बिरामीलाई वितरण गरिने खाना राम्रो भए पनि व्यवस्थित नभएको पाइएको छ ।
अस्पतालमा हुने भिडियो एक्स–रे सातामा शुक्रबार, मंगलबार दुई दिन बिदा हुने गरेको र शनिबार थप एक दिन सार्वजनिक बिदा हुँदा सेवाग्राहीको भीड अत्याधिक रहेको पाइएको छ ।
अस्पतालको औषधि काउन्टर र ओपीडीमा टोकन सिस्टम शुरु भएसँगै केही व्यवस्थित भएको छ भने सुधारका धेरै काम हुन बाँकी रहेको सुधार समितिका प्रवक्ता राजेश गुप्ताले बताउनुभयो ।
“अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटीसँग पूरा नभएका माग बारे पुनः छलफल गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “अस्पतालले पूरा गर्न नसक्ने मागहरुका विषयमा सरोकारवाला निकायमा संयुक्त रुपमा डेलिगेसन जाने मौखिक सहमति भएको छ ।”

अस्पतालको अनुगमन गर्न सुधार समितिका अध्यक्ष तिम्सनाको नेतृत्वमा गएको टोलीमा समितिका सदस्यहरु हेम घिमिरे, राजेश गुप्ता, रुद्र निरौला, हेमलाल भट्टराई, रमेश न्यौपाने, सुरज रेग्मी, अम्बिका पोखरेल, कपिलमणि खरेल लगायत सहभागी हुनुहुन्थ्यो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



