
दमक, १४ भदौं । झापाको कमल गाउँपालिका–६ स्थित गेउरियामा निर्मित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएको छ ।
एक वर्षअघि निर्माण पूरा भएको अस्पतालको बुधबारदेखि सञ्चालनमा आउने भएको हो । अस्पतालको बुधबार प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने जनाइएको छ । सोका लागि आवश्यक तयारी पूरा भएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
सबै किसिमका रोगको उपचार गर्न सकिने गरी पूर्वाधार लगायतका संरचना समेत निर्माण गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर अनिल कुमार यादवले बताए । अस्पताल निर्माणका लागि त्यहाँका स्थानीय मणिकुमार भण्डारी लगायत छ जना दाताले दुई बिगाहा बढी जमिन निःशुल्क उपलब्ध गराएका थिए ।
अस्पताल संघीय सरकारको २० करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । भवन २०७८ असार २५ मा निर्माण पूरा भएको थियो । अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल भदौ ७ गते भवनको शिलान्यास गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



