
झापा, ५ भदौ । झापाको सात वटा पालिकामा डेंगु संक्रमित फेला परेका छन् ।
जिल्लाका सात वटा पालिकाका ३५ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।
उहाँका अुनसार दमक नगरपालिकामा छ जना, मेचीनगरमा सात जना, बिर्तामोडको बीएण्डसी हस्पिटलमा १२ जना, बिर्तामोडमा दुई जना, भद्रपुरमा तीन जना, अर्जुनधारामा तीन, बुद्धशान्तिमा एक र कमल गाउँपालिकामा दुई जनामा डेंगु संक्रमण देखिएको छ ।
हालै कार्यालयलाई फेयर नेटको सहयोगमा चार सय थान डेंगु परीक्षण कीट प्राप्त भएको छ भने कार्यालयमा दुई सय थान डेंगु परीक्षण कीट रहेको छ । सोमध्ये जिल्लाका १५ वटै पालिकालाई ३०÷३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताउनुभयो ।
“पालिकामा डेंगु परीक्षणको सहताका लागि केही भए पनि परीक्षण कीट वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाहरुले आफैँ खरीद गरिरहेका छन् ।” स्वास्थ्य मन्त्रालय अन्तरगत १०÷१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ ।
डेंगु संक्रमण रोकथामका लागि बुद्धशान्ति, मेचीनगर र बिर्तामोडका सरकारी तथा गैरसरकारी संस्थाबीच अभिमुखीकरण गरिएको छ भने भद्रपुरमा १० लार्भा नष्ट अभियान चलाइएको फोकल पर्सन दासले बताउनुभयो ।
पालिकाहरुले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने÷गरिरहेका छन् । डेंगु संक्रमण बढ्न थालेपछिस्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहलाई हप्तामा दुई पटक सरसफाई गर्नुपर्ने निर्देशनसमेत दिइसकेको छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । सन्तोष शर्मा
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



