
सन्तोष शर्मा
भद्रपुर, ९ असोज । झापामा पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएको छ ।
जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेंगु संक्रमण देखिएको थियो”, उहाँले भन्नुभयो, “पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ ।”
संक्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना संक्रमित फेला परेका छन् ।
यस्तै, मेचीनगरमा १०, बुद्धशान्तिमा ७, अर्जुनधारामा १, कनकाईमा ८, कमलमा ६, दमकमा ७, गौरादहमा १, झापामा ३, बिर्तामोडमा १४, भद्रपुरमा ४ र कचनकवलमा २ जनामा डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापाका तीन पालिका शिवसताक्षी, गौरीगञ्ज र बाह्रदशीमा डेंगु संक्रमण नदेखिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्लाका १५ वटै पालिकालाई ३०/३० थान कीट वितरण गरिएको फोकल पर्सन दासले बताउनुभयो । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाहरुले आफैँ खरीद गर्ने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालय अन्तरगत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ ।
यता, जिल्लाका सबै पालिकाहरुले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेंगु संक्रमण बढ्न थालेपछिस्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहलाई हप्तामा दुई पटक सरसफाई गर्नुपर्ने निर्देशनसमेत दिइसकेको छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



