
झापा, ४ कात्तिक । नेपालमा डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
प्रतिष्ठानमा १२ नमुनामा परीक्षण गर्दा ७ वटा सेरोटाइप ‘वान’ र ५ वटा नमुुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले बताए । धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ‘थ्री’ देखिएको भन्न नमिल्ने उनको भनाइ छ ।
२०१६ मा प्रकाशित एक रिपोर्ट अनुसार दास्रो पटक फरक सेरोटाइपबाट संक्रमण भएकालाई उच्च ज्वरो आएको, रगतमा प्लेटलेट्सको संख्या अझ कमी देखिएको र धेरैमा डेंगुको ‘रक्तश्राव’ वा ‘शक सिन्ड्रोम’ देखिएको थियो ।
नेचर जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार पहिलो पटक जुुन सेरोटाइपले संक्रमण गरे पनि त्यसको तीन महिनासम्म फरक सेरोटाइपको डेंगुको संक्रमण हुँदैन ।
हाल नेपालमा डेंगुु ७७ जिल्लामा फैलिएको छ । गत साउन महिना यता ४१ हजार ७४३ जनामा डेंगु पुष्टि भएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



