
कनकाई, ५ कात्तिक । झापाको कनकाई नगरपालिकाले डेंगु संक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाएको छ ।
नगरका नौ वटै वडामा डेंगु नियन्त्रणका लागि अभियानलाई तीव्र बनाइएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
नेपालमा दैनिक एक हजार भन्दा बढी मानिसमा डेंगु संक्रमण देखिएकाले सोको नियन्त्रणका लागि सबै जना सक्रिय हुनुपर्ने नगर प्रमुख पोख्रेलले बताउनुभयो। ‘औषधि छिटेर मात्र डेंगु नियन्त्रण हुँदैन’, नगरप्रमुख पोरखेलले भन्नुभयो, ‘सबैले आ–आफ्नो घर वरिपरि सरसफाई गर्नुका साथै खाल्डाखुल्डी पुर्नुपर्छ, डेंगु फैलिने वातारवणलाई निष्तेज पार्नुपर्छ ।’

पहिलो चरणमा यदि लार्भा नस्ट नभए दोस्रो अभियान पनि चलाउने तयारी भइरहेको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिनुभयो । कनकाई नगरमा केही व्यक्तिलाई डेंगु संक्रमण देखिए पनि जटिलता नआएको बताउनुभयो । किङफग नामक औषधी प्रयोग गरी डेंगु नियन्त्रणको प्रयास भइरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो । अभियान ९ नं. वडाबाट शुरु भएको नगर स्वास्थ्य शाखाका कर्मचारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



