
भद्रपुर, १५ मंसिर । झापा हात्तीपाइले रोगविरुद्धको ११औं अभियानमा झापा असफल भएको छ ।
झापा दुई पालिकामा सञ्चालन गरिएको प्रि–सेम्पल सर्भे (नमूना परीक्षण) को नतिजा अनुसार झापामा ११औं पटक सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको अभियानमा असफल भएको हो । नमूना परीक्षणमा पाँच जनाभन्दा कम आउनुपर्नेमा दुवै पालिका सोभन्दा बढी आएको छ ।
झापाको कचनकवल गाउँपालिका–४ स्थित लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा तीन÷तीन सय जनामा गरिएको नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा कचनकवलमा २१ जना र झापा गाउँपालिकामा १३ जनाको रगतमा हात्तीपाइले रोगको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
“एक–दुई पटक र औषधि नै सेवन नगरेका मानिसको रगतमा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ”, उहाँले भन्नुभयो, “छ वर्षसम्म लगातार औषधि सेवन गरेकाहरुमा जीवाणु फेला परेको छैन ।”
नमूना परीक्षणको नतिजा अनुसार झापामा हात्तीपाइले रोग निवारणको ११औं पटकको अभियान असफल भएको उहाँले बताउनुभयो । झापामा अब १२औं अभियान शुरु हुनुका साथै दुई वटा औषधि सेवन गरिँदै आएकोमा एक वटा औषधि थपिएर तीन वटा हुनेछ ।
पुनः दुई वर्ष नियमत औषधि सेवन गरेपछि नमूना परीक्षण गरिने जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताउनुभयो । झापामा छ वर्षमा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखिए पनि ११ वर्ष बितिसक्दा पनि सफलता मिलेको छैन । अघिल्लो पटक सन् २०२० झापाको दमक र झापा गाउँपालिकामा नमूना परीक्षण गर्दा मापदण्ड भन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान असफल भएको थियो । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



