
भद्रपुर, १५ मंसिर । झापामा ३७ जना एचआइभी एड्स संक्रमित थपिएका छन् ।
चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि कात्तिकसम्ममा ३७ जना एचआइभी एड्स संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका एचआइभी फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।
झापाको दमकस्थित दमक अस्पताल मार्फत् औषधि सेवन गर्नेगरी ११ जना र प्रादेशिक अस्पताल भद्रपुरमार्फत् औषधि सेवन गर्नेगरी २६ जना गरी ३७ जना एचआइभी संक्रमित थपिएका हुन् ।
गत आव २०७८÷०७९ मा ३० जना नयाँ संक्रमित थपिएका थिए । अघिल्लो आवको तुलनामा चालु आवमा जिल्लामा तीन गुणा बढी एचआइभी संक्रमित थपिएको तथ्यांकले देखाउँछ । जिल्लामा हाल ६३६ जना एचआइभी संक्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् ।
दमक अस्पताल अन्तरगत २११ जना र प्रादेशिक अस्पताल भद्रपुर अन्तरगत ४२५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौं’ भन्ने नाराका साथ झापामा आज विविधि कार्यक्रम गरी विश्व एचआइभी एड्स दिवस मनाइँदैछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



