
झापा, २८ मंसिर । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।
रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने, पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिए । त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ ।
दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी, पूर्वसभापति लिला गुरागाईंको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्ने गरेको छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



