
कनकाई, २७ पुस । कनकाई नगरपालिकाको आयोजनामा कनकाई नगर अस्पतालमा एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा २ सय १५ जनाले स्वास्थ्य लाभ लिएको स्वास्थ्य साखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिनुभयो । कनकाई नगर अस्पतालमा मुटु तथा सुगर प्रेसर रोगीहरुलाई लक्षित गरेर एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य शाखाका कर्मचारी नारायणप्रसाद अधिकारी बताउनुभयो ।
बिएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा २सय १५ जनाको मुटुको इसिजी र १सय १५ जनाको इको गरिएको स्वास्थ्य शाखा प्रमुख दङ्गाललेले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेशकुमार यादव सहितको १५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको नगर कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

स्वास्थ्य कर्मी चिकित्सकको टोलीले मुटु सम्बन्धि चेकजाँच र निशुल्क औषधि समेत वितरण गरेको थियो । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले हरेक महिना यस प्रकारको स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । स्वास्थ्य जाँचमा समस्या भएका विरामीहरुका लागि विशेष छुटमा उपचारको प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ ।
उपचारका लागि कनकाई नगरपालिका सहित छिमेकी देश भारत र छिमेकी पालिकाबाट समेत विरामीहरु स्वास्थ्य जाँचका लागि कनकाई नगर अस्पतालमा आएको र आगामी दिनमा पनि यस्ता बिशेषज्ञ सहितको स्वास्थ्य शिविर सन्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपाने बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



