
भद्रपुर, ३ माघ । झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ शुरु भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं. १ धनकुटाले भद्रपुरमा आज ‘जिल्ला स्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ कार्यक्रम गरेसँगै झापामा नागरिक आरोग्य कार्यक्रम शुरु भएको हो ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ शुरु भएको उक्त अभियान जिल्लाका सबै पालिका, वडा र टोलटोलमा पु¥याइने जिल्ला आयुर्वेद कार्यालय झापाका प्रमुख डा. अनिलकुमार यादवले जानकारी दिनुभयो ।
“रोगमुक्त मुलुक निर्माणमा सरकार लागेको छ”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन सरकारसँगै हरेक नागरिकको दायित्व उत्तिकै हुन्छ ।” सरकारले स्वास्थ्य क्षेत्रमा बर्षेनि ठूलो बजेट छुट्याउँदै आएको बताउँदै उहाँले रोगमुक्त समाज बनाउन सके उक्त रकम अन्य क्षेत्रमा खर्च हुने उल्लेख गर्नुभयो ।

आधुनिकता नाममा मानिसको जीवनशैली र व्यवहार परिवर्तन हुँदा बर्सेनि नसर्ने रोगीको संख्या बढ्दै गएको प्रादेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताउनुभयो । “नसर्ने रोगको जोखिम र बिरामी बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “मृत्युको संख्या पनि नसर्ने रोगबाट धेरै हुने गरेको छ, सही जीवनशैली अपनाउन सके मात्र त्यसलाई न्यूनीकरण गर्न सकिन्छ ।” नागरिकलाई सहीबाटमा ल्याउन झक्झक्याउनका लागि नागरिक आरोग्य कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
गलत व्यवहार र अव्यवस्थित जीवनशैलीकै कारण बर्षेनि मुलुकमा पाँच लाख घरपरिवार गरिबीको रेखामुनी पुग्ने गरेको जिल्ला आयुर्वेद कार्यालय उदपुरका प्रमुख डा. सरोज विशालले बताउनुभयो । सरकारको मात्र नभई व्यक्तिको ठूलो रकम स्वास्थ्य क्षेत्रमा खर्च भइरहेकाले नागरिक गरिबीको रेखामुनि पुग्न बाध्य भएको उहाँले बताउनुभयो । “घरघरमा स्वास्थ्य सचेतना जनाउन नागरिक अरोग्य अभियान शुरु भएको छ”, उहाँले भन्नुभयो, “आफ्नो बानी व्यवहारमा सामान्य परिवर्तन गर्न सकिएमात्रै स्वास्थ्य रहन सकिन्छ ।”
नेपाल स्टेप्सले सन् २०१९ मा गरेको सर्भेमा प्रदेश नं. १ का नसर्ने रोगका जोखिमको तत्वहरुमा सूर्तीजन्य पदार्थ सेवन गर्ने २२.८ प्रतिशत रहेको पाइएको, मध्यपान गर्ने २३.१ प्रतिशत, मापदण्ड अनुरुप खानपान नगर्ने ९६.४ प्रतिशत, नून बढी प्रयोग भएको खानेकुरा खाने २१.१ प्रतिशत, दैनिक औषत नून प्रयोग ९.२ ग्राम, केही वा धेरै मात्रा काम, व्यवसायको तनाव लिने ५८.५ प्रतिशत, घरभित्रको तनाव हुने ५८.३ प्रतिशत, अधिक वजन र मोटोपन हुने २२.९ प्रतिशत, उच्चरक्तचाप हुने २६.६ प्रतिशत, रगतमा चिनीको मात्र बढी र औषधि प्रयोग गरिरहेका २८.८ प्रतिशत, कोलेष्ट्रोलको मात्र बढी भएको १४.८ प्रतिशत र स्वास्थ्यकर्मीबाट रक्तचाप नाप्ने ६८ प्रतिशत रहेको पाइएको तथ्यांक डा. विश्वासले प्रस्तुत गर्नुभएको थियो । गरिब र विपन्न परिवारमा नसर्ने रोगको जोखिम बढी रहेको उहाँको भनाइ छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ का खगेन्द्र पौडेलले प्रदेश नं. १ का १४ वटै जिल्लामा नागरिक आरोग्यता कार्यक्रम शुरु भएको बताउनुभयो । निरोगी नेपाल कार्यक्रम अन्तरगत स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको उहाँले उल्लेख गर्नुभयो । “सर्ने र नसर्ने रोगको जोखिम काम गर्ने मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “मानिस स्वस्थ्य भई दीघायू हुन जरुरी छ ।”
कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय झापाका कविराज निरीक्षक टेकनाथ आर्यालले झापामा ६ वटा कार्यालय मार्फत् अभियान सञ्चालन हुने बताउनुभयो । “पालिका, वडा, टोल हुँदै घरघरमा पुग्छौं”, उहाँले भन्नुभयो, “त्यसका लागि आश्वयक कामकारबाही अघि बढाएका छौं ।”
कार्यक्रममा सहभागीका तर्फबाट स्वास्थ्य स्वयम्सेविका सीता आचार्यले अभियानलाई आफूबाटै लागू गरी घरघरमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो भने भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले नागरिक आरोग्य कार्यक्रम मानिसको जीवन दैनिकीसँग जोडिएको महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



